| शनिबार, बैशाख ८, २०८१

स्वरोजगार बन्न चाहनेलाई पालुङ्टारनगरपालिकाले बिनाब्याज १० लाखसम्म ऋण दिन थाल्यो

 

पालुङटार नगरपालिकाले नगरबासीलाई स्वरोजगार बनाई कृषि उपजमा आत्मनिर्भर बनाउनका लागि बिना ब्याज कर्जा वितरण गर्न सुरु गरेको छ ।

शुक्रबार एक औपचारिक समारोहको आयोजना गरी नगरपालिकाका मेयर दीपकबाबु कँडेलले स्वरोजगार बन्न चाहनेलाई व्यवसाय सञ्चालन गर्न ब्याज सहुलियतको कर्जा दिन सुरु गरेका हुन् ।

युवाहरुलाई आत्मनिर्भर बनाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले पाँचौँ नगरसभाले स्थानीय उद्यम तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम स्वीकृत गरी कार्यविधि समेत बनाएको थियो ।

सो कार्यक्रमका लागि नगरपालिकाले गतबर्ष एक करोड र यसबर्ष दुई करोड गरी तीन करोड रुपैयाँको स्वस्वरोजगार कोष स्थापना गरेको कँडेलले जानकारी दिए ।

युवाहरुलाई कृषि, पशुपालन, उद्योग तथा ब्यापार सञ्चालन गर्नका लागि स्वरोजगार कार्यक्रमअन्तर्गत बिना व्याज ऋण दिन सुरु गरेको उनले बताए ।

ब्यबसाय सञ्चालन गर्न चाहने युवालाई सो कोषबाट कम्तिमा एकलाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म ऋण दिन सुरु गरिएको उपमेयर पम्फा बसेलले जानकारी दिइन् ।

सहुलियतपूर्ण कर्जाका लागि व्यवसाय गर्न चाहनेले विधिवत दर्ता गरेर व्यापार, व्यवसाय सुरु गरी वडा कार्यालयको सिफारिस पेश गर्नुपर्ने ब्यबस्था छ । साथै सो रकम तीनबर्षभित्र चुक्ता गरिसक्नु पर्ने उपमेयर बसेलले बताइन् । सो रकम अनुदान नभएकाले निर्धारित समयमा अनिबार्य चुक्ता गर्नुपर्ने उपमेयर बसेलले बताइन् । नतिरेमा नगरपालिकाले दिने सेवा सुविधा सम्पूर्ण बन्द गरिने उनले बताइन् ।

स्थायी ठेगाना पालुङ्टार नगरपालिका बाहिर भै पालुङ्टारमा व्यापार, ब्यबसाय सञ्चालन गरेकोलाई समेत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने कार्यविधिमा उल्लेख रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जानकारी दिए ।

स्वआर्जन कोषको पूर्ण सदुपयोग हुन सके बेरोजगार न्यूनिकरण, आयात न्यूनिकरण, निर्यात प्रवद्र्धन हुने मेयर कँडेलले जानकारी दिए । यस कार्यक्रमले पालुङ्टार नगरपालिका कृषि उपजमा आत्मनिर्भर हुने उनले विश्वास ब्यक्त गरे ।

नगरपालिकाले यो बर्ष ४० जनालाई स्वरोजगार कोषको कर्जा वितरण गर्ने लक्ष्य राखेको छ । शुक्रबार एकै दिनमा नौ जनालाई कर्जा प्रबाह गरिएको नगरपालिको जनाएको छ ।

शुक्रबारको उद्घाटन कार्यक्रममा मेयर कँडेल, उपमेयर बसेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम काराखेती, प्रशासन शाखाका दीपेन्द्र अर्याललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्