
गरे यहीँ काफी हुन्छ : जायजेथा धितो राखेर कुखुरा पालेका वीरेन्द्र को दुई महिनाको आम्दानी रु १० लाख
एक जना युवा कामको खोजीमा भौतारिरहन्छ । स्वदेशमै बसेर केही गर्ने आँट हुँदैन । कारण : लगानी गर्ने पैसा छैन, स्वरोजगार गर्न चाहनेलाई छरछिमेकीले ऋण पत्याउँदैनन्, ब्यवसाय गर्ने वैज्ञानिक ज्ञान, सीप र तरिका पनि छैन । युवा व्यवसायीलाई सुहाउँदो राज्यको नीति, वातावरण छैन । युवा उमेरमा धेरै लगानीमा साथ दिन परिवार पनि डराउँछन् । परिवारका सदस्यले साथ नदिएको जस्तो महशुस हुन थाल्छ र युवा बिदेश जाने बाटो खोज्छन् ।
बिदेश जाने भनेपछि अभिभाबकले ऋण नै खोजेर पनि लगानी गरिदिन्छन् । छरछिमेकीले पनि ऋण पत्याउँछन् । बिदेश पुगेर गर्नु परेको दुःख, भोगाई र गुजारा मात्रै चल्ने कमाईपछि बिस्तारै घरमै बसेर केही गर्न पाए हुन्थ्यो भन्ने चाहना बढ्न थाल्छ । योजना बनाउन सुरु हुन्छ । उमेर पनि बढ्दै जान्छन । अनि ती युवा केही पैसा जम्मा गर्छन र स्वदेश फर्कन्छन, अनि थाल्छन ऋण काढेर कृषि तथा पशुपालन ब्यवसाय ।
यस्ता धेरै युवा मध्येका एक गोरखा नगरपालिका ९ आमडाँडाका वीरेन्द्र कुँवर पनि हुन् । उनी ३४ वर्ष पुगे । कुखुरा पाल्न थालेको झण्डै एक दशक बित्यो । अहिले १५ हजार भन्दाबढि ब्रोईलर कुखुरा पाल्छन् । यसरी व्यवसायीक कुखरा पालन थालेको छ वर्ष बित्यो । उनीसंग कुखुराको तीनवटा ठूला खोरहरु छन् । ७५ लाख लगानी गरेका छन् । जायजेथा धितो राखेर ऋणमा व्यवसाय सुरु गरेको उनी बताउँछन् । कुखुरा पालन व्यवसाय सोचे अनुसार भएन भने उनी सुकुम्बासी हुने चिन्ता छ । रातदिन उनी कुखुराको स्याहार सुसारमा लाग्छन् ।
घरैमा बसेर कुखुरा पाल्ने, त्यो पनि हजारौँको संख्यामा । यो उनका लागि मात्रै नभएर अन्य युवाका लागि पनि नयाँ र प्रेरणादायी छ । कुखुरा म¥यो भने ? उत्पादन राम्रो सँग दिएन भने ? बिक्री भएन भने ? के गर्छ होला भन्ने जमात पनि छरछिमेकमा कम्ति छैन । उनीसँग कुखुरा पालनका बारेमा ज्ञान लिन आउने युवाहरु पनि लगानीको आँट गर्न डराउँछन् । युवा उमेरदेखि कुखुरा पालन गर्दै आएका वीरेन्द्र कुँवर भने कुखुरा पालनमा धेरै ज्ञान लिएर व्यवसायीक रुपमा थालेको बताउँछन् ।
उनी नेपाल आर्मीमा भर्ती पनि भएका थिए । केही वर्षभित्रै जागिर छाडेर मलेसिया उँडे । त्यहाँ पनि टिकेनन् । साउदी पनि पुगे, कतार पनि पुगे । बिदेशमा कमाएको पैसाले घरखर्च बाहेक केही प्रगति भएन । अन्ततः उनी घर फर्किए । त्यतिबेला पनि उनको घरमा एक÷दुई सय कुखुरा थियो । उनी कुखुरा पालनका बारेमा सामान्य जानकार नै थिए । त्यसपछि कस्सिए घरैमा बसेर कुखुरा पाल्न । सयबाट पाँच सय, पाँचसय बाट एकहजार हुँदै सुरु भएको व्यवसाय अहिले १५ हजारमा आईपुगेको छ ।
बिदेशमा हुँदा साथीभाईसँग नेपालमै फर्किएर केही गरुँ भन्ने गफगाफ भइरहन्थ्यो । छिटो पैसा आम्दानी गर्न सक्ने माध्यम खोज्दै जाँदा उनी कुखुरा पालन गर्न पुगे । उनीजस्तै युवाहरुको लगानी र व्यवसायले गोरखा मासुमा आत्मनिर्भर छ । अझै मासु जिल्ला बाट अन्यत्र पनि निकासी हुन्छ । मात्रै दरभाउ बढेका बेला बढि हुँदैन घटेका बेला मात्रै घट्छ भन्ने चिन्ता किसानको छ ।
कुँवरले अहिले संचालन गरेको फर्म गोनपा ९ को आमडाँडा टोड्के पानीमा पर्छ । जंगलको छेवैमा फर्म छ । त्यहाँसम्म सडक, बिजुली र फर्मलाई चाहिने पानीका लागि ब्यक्तिगत रुपमा लगानी गरेका छन् । भाडामा जग्गा लिएर व्यवसाय गर्नुभन्दा आफ्नै जग्गामा दिर्घकालीन व्यवसाय गर्न अहिले लगानी गरेको उनको तर्क छ । लाखौँ खर्च गरेर गरेको कुखुरा पालनको हेरचाह उनी एक्लैले सम्भव छैन ।
आफु एक जनाका लागि जागिर खान, रोजगारी खोज्दै बिदेश पुगेका कुँवर अहिले चार जनालाई रोजगारी दिने भएका छन् । एक पटक कुखुरा तयार हुँदा (४५ देखि ५०) दिनमा उनीहरुले २८ हजार देखि ३० हजार रुपैयाँसम्म तलब लिन्छन् । उनल पोल्टूीफर्म नखोलेको भए ती चार जना मध्ये कम्तीमा २ जना बिदेशमा हुन्थे । तर उनीहरुले जीवन पनि परिवारसँगै बिताउन पाएका छन् ।
कुखुरा पालन व्यवसाय गर्ने वीरेन्द्र जस्तै गाउँमा धेरै युवा छन् । धेरैथोरै पाल्ने किसानहरु पनि छ । तर सबैको चिन्ता उचित मूल्य नपाएकोमा छ । किसानलाई खोर तयार भएपछि दाना, चल्ला सप्लायर्सले ढुवानी गर्छ । कुखुरा तयार नहुँदा सम्म लगानी गर्छ । तयार भएको कुखुरा पनि बिक्री गरिदिन्छ । तर मूल्य गर्न किसानले पाउँदैनन् । सप्लायर्सले आफ्नो मूल्यमा किनेर लान्छ र बिक्री गर्छ । बजारमा कुखुराको माग धेरै भएका बेला पनि उस्तै दरमा किसानले बिक्री गर्नुपर्दा समस्या भएको गुनासो किसानहरुको छ । उपभोक्ताले खुद्रा पसलबाट किनेको रकम सिधै व्यवसायीको हातमा पर्ने हो भने युवाहरु कृषि तथा पशुपालन व्यवसाय गर्नमा थप जोश जाँगर भरिन्थ्यो ।
सरकारले बिदेशबाट फर्केका युवालाई बैङ्कले भनेजस्तो सजिलो गरी ऋण दिँदैन । युवा व्यवसायीमा धेरै झन्झट बेहोर्नुपरेको अनुभव छ । लगानी, उत्पादनको ग्यारेन्टी नहुँदा पेसा व्यवसाय गर्ने चाहना भएका धेरै युवाहरुले आँट गर्न सकिरहेका छैनन् ।
आमडाँडामा युवा उद्यमी कुँवरले अहिले बाख्रा र बङ्गुर फर्म बिस्तार गर्दैछन् । उनलाई कृषिमै आधुनिक तरिकाले व्यवसाय गर्ने जोश जाँगर छ । कारण ः कमाई पनि छ । दुईवटा खोरबाट एकैपटक कुखुरा तयार गरेर निकाल्दा कम्तीमा १० लाख रुपैयाँ उनले आम्दानी गर्छन् । घरमै बसेर दुई महिनामा यति आम्दानी गर्नु सानोतिनो कुरा होइन । तर बैङ्कको ऋण, धेरै लगानीका कारण बाख्रा र बङ्गुरको फर्म, कुखुराकै २० हजार पाल्न मिल्ने ठाउँ बनाउने उनको योजना पुरा भएको छैन ।
आफुजस्तै कृषि तथा पशुपालन व्यवसायमा लाग्ने युवाहरुको समुहको खोजीमा उनी छन् । मिलेर व्यवसाय गर्ने चाहना भएका दाजुभाइलाई पनि उनले आफ्नो फर्ममा साँझेदारी गर्ने तयारीमा छन् । सबै मिलेर अझै व्यवसाय बढाउने योजना उनको छ । सरकारले वर्षेनी लाखौँ रुपैयाँ कृषिमा, युवा उद्यमीलाई अनुदान दिएको सुनेका उनी आफुले अहिलेसम्म एक रुपैयाँ कुनै संघ संस्था र सरकारबाट नपाएकोमा भने गुनासो गर्छन । पहुँचवाला र देखावटी किसानलाई मात्रै अनुदान पुग्ने गरेको प्रति उनको दुखेसो छ ।




