| आइतवार, कार्तिक २२, २०८३

गोरखाको लाप्राकमा प्रशोधित पानीको उद्योग बन्दै

धार्चे गाउँपालिका ४ लाप्राकमा पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्र्तगत सहरी विकास तथा भबन निर्माण कार्यालय गोरखाले ७५ लाख ४७ हजार रुपैयाँको लागतमा प्रशोधन केन्द्र निर्माण गर्न लागेको हो ।

‘गत भदौमा सम्झौता भएको हो, एक साताभित्र काम सुरु हुन्छ’ कार्यालयका प्रमुख सुरेश खनालले भने । सम्झौता भएको मितिले २ वर्ष भित्र अबिन्द कन्स्ट्रक्सन भरतपुरले पुरा गर्ने प्रतिवद्धता गरेको छ । कार्यालयका प्रमुख, इन्जिनियर सहितको टोलीले पानी प्रशोधन केन्द्र निर्माण हुने ठाउँको स्थलगत अध्ययन गरेको इन्जिनियर अजयकुमार श्रेष्ठले बताए ।

जग्गा नमिल्दा केही समय काम ढिला भएको थियो । तीन रोपनी जग्गा भित्र बन्न लागेको उक्त प्रशोधन केन्द्रमा दुईवटा ‘प्लान्ट’ कक्ष, चार कोठाको कार्यालय भबन सहित मेसिन खरिद कम्पनीले गर्नुपर्नेछ । दुर्गम गाउँ भएकाले त्यहाँका स्थानीयलाई रोजगारीको अवसर दिन पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको कार्यालय प्रमुख खनालले बताए ।

धार्चेमा पानी प्रशोधन भएपछि अन्य शहरबाट अब बोत्तलको पिउने पानी लैजानु नपर्ने गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ बताउँछन् । ‘स्थानीय उपभोक्ता र पर्यटकले गाउँमै उत्पादन भएको पानी पाउँछन’ उनले भने । हिमालबाट आउने भएकाले त्यहाँको पानी शुद्ध हुने हुँदा उपभोक्ताको रोजाईमा पर्ने दावी उनको छ ।

लाप्राकमा अहिले एनआरएनले बस्ती राखेको गुप्सीपाखा भन्दा केही तल न्यालेको मुहानबाट निस्केको पानी प्रशोधन केन्द्रमा शुद्धीकरण गरि बोत्तलमा राखेर बिक्री गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्