| आइतवार, कार्तिक २२, २०८३

गोरखा संग्राहालय अब हप्ताको सातैदिन खुल्ला

 

 

आन्तरिक तथा बाह्य पर्यटकको माग र स्थानीयबासीको आग्रहलाई कार्यान्वयन गर्दै गोरखा संग्रहालयले हप्ताको सातै दिन संग्रहालय खुला गर्ने निर्णय गरेको छ । भ्रमणबर्ष २०२० लाई मध्यनजर गरी पर्यटकको संख्या बढाउन संग्रहालय सातैदिन खोल्ने निर्णय गरेको संग्रहालय प्रशासनले जनाएको छ ।

कर्मचारीको आन्तरिक व्यवस्थापन गरी मङ्सीर, पुस र माघ महिनासम्मका लागि सातैदिन संग्रहालय खुलाउने निर्णय गरिएको संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । देशभरका संग्रहालयको नियमअनुसार यसअघि गोरखा संग्रहालय मङ्गलबार बन्द हुने गरेको थियो । देशभरका विद्यार्थी शैक्षिक भ्रमण आउने सिजन संग्रहालय बन्द भएपछि अवलोकनकर्ताहरुलाई समस्या परेकाले कर्मचारीलाई आलोपालो गरी सातैदिन संग्रहालय खुलाउने ब्यबस्था मिलाएको अधिकारीले बताए ।

नेपालकै कान्छो दरबार मानिने गोरखा दरबार संग्रहालयभित्र ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक ग्यालरीहरु संग्रह गरिएका छन् । कात्तिक, मङ्सीर, पुस र माघ महिनामा देशका ७७ वटै जिल्लाबाट विद्यार्थीहरु गोरखामा शैक्षिक भ्रमण गर्न आउँछन् । उनीहरु नेपाल एकीकरणको जग गोरखा दरबार तथा एकीकरणको इतिहास झल्कने पुरातत्विक, ऐतिहासिक महत्वको गोरखा संग्रहालय अवलोकन गर्ने गर्छन् । ‘शैक्षिक भ्रमणको मुख्य सिजनमा गोरखा आउने पर्यटकले मंगलबार गोरखा संग्रहालय हेर्न पाएनौं भन्ने धेरै गुनासो आएकाले सो गुनासो सम्बोधन गर्न सातैदिन खुलाउने निर्णय गरेका हौं’, अधिकारीले भने, ‘बिदाका दिनमा खटिने कर्मचारीलाई थप सुविधाको ब्यबस्था गरिएको छ ।’ यही ब्यबस्थालाई निरन्तरता दिने प्रस्ताब पुरातत्व बिभागमा पठाएको उनले बताए । यदि बिभागले स्वीकृति दिएमा बर्षभरि नै सातैदिन संग्रहालय खुलाउने सकिने उनले बताए ।

मंगलवार खटिने कर्मचारीलाई खाजा खर्च बापत दैनिक थप छ सय रुपैयाँ दिइनेछ । मंगलवार संग्राहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि मात्रै खुल्ला हुनेछ भने कार्यालय बन्द रहनेछ । संग्रहालयको ग्यालरी अवलोकनको ब्यबस्था मिलाए पनि अन्य प्रशासनिक कामकाज भने नहुने संग्रहालयले जनाएको छ ।

सातैदिन संग्रहालय खुल्ला गर्न स्थानीयबासीले पनि आग्रह गर्ने गरेका थिए । ‘मंगलबार भ्रमणका लागि आएका पर्यटकहरु संग्रहालय हेर्न नपाएर खिन्न भएर फर्केको हामीले सँधै देखिरहेका थियौं । त्यसैले हामीले मंगलबार पनि खुल्ला गर्ने ब्यबस्था मिलाउन व्यक्तिगत, संस्थागत रुपमा धेरे संग्रहालय प्रशासन, पुरातत्व बिभागलाई धेरै पटक अनुरोध गरेका थियौँ’, ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिका सचिव दिलिप जोशीले भने, ‘अहिले निर्णय भएछ । धेरै खुशी लाग्यो । अब पर्यटकको संख्या पक्कै पनि बढ्नेछ ।’

असोज महिनाको तुलनामा कात्तिकमा संग्रहालय घुम्न आउने पर्यटकको संख्या चार गुणाले बढेको कार्यालयको तथ्याङ्क छ । कात्तिक महिनामा मात्रै १६ हजार ४० जनाले संग्रहालय अवलोकन गरेका थिए भने असोजमा चारहजार ६५२ जनाले संग्रहालयको अवलोकन गरेका थिए ।

संग्रहालयभित्र १३ वटा ग्यालरी रहेका छन् । बिभिन्न जातजातिको भेषभूषा कक्ष, शाह वंशीय राजाको वंशावली कक्ष, तेलीय चित्र कक्ष, हातहतियार कक्ष, जन्मकुण्डली कक्ष, बाजागाजा कक्ष लगायतका ग्यालरी रहेको संग्रहालय प्रमुख अधिकारीले बताए । संग्रहालय अवलोकन गर्न बिद्यार्थीलाई १०, नेपाली पर्यटकलाइ २५, सार्क राष्ट्रका नागरिकलाई ५० र बिदेशी पर्यटकलाई १०० रुपैया प्रवेश शुल्क रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्