| आइतवार, कार्तिक २२, २०८३

हेल्थपोष्ट टाढा हुँदा स्वास्थ्यप्रति हेलचेक्र्याइँ, न्याकमा क्षयरोगका बिरामी धेरै

चुमनुब्री गाउँपालिका ३ न्याककी महिला स्वास्थ्य कार्यकर्ता लक्ष्मी गुरुङ बिहानको खाना बनाईवरी ६ बजे हतार हतार बारीको काममा जान्छिन् । आठ बजे खाना खान आउँछिन् । नौ बजे फेरि काममा गएपछि एकैचोटि साँझ छ बजे फर्कन्छिन् ।

बेलामा खानाको सुविधा नहुँदा उनलाई ग्यास्ट्रिकको ठूलो समस्या छ । उनलाई मात्र होइन, सो गाउँका प्राय सबैलाई ग्यास्ट्रिकको समस्या रहेको उनी बताउँछिन् ।

४४ घरधुरी रहेको न्याक गाउँमा स्वास्थ्य संस्था छैन । सिर्दिबास स्वास्थ्यचौकी न्याकका लागि सबैभन्दा नजिकको स्वास्थ्यचौकी हो । त्यहाँसम्म पुग्न सञ्चो मान्छेलाई चार घण्टा लाग्छ । स्वास्थ्य संस्था पुग्न बिरामीलाई पाँच, छ घण्टासम्म लाग्ने उनको भनाइ छ ।

‘यहाँ यस्तै हो । रातभर ग्यास्टिूकका कारण पेट दुखेर रुन्छन् । भोलिपल्ट बिहान उठेर फेरि उसैगरी काममा जाने गर्छन्’, स्थानीय दिपेश गुरुङ भन्छन्, ‘यहाँ सामान्य बिरामीलाई बिरामी भएको भन्ने नै ठान्दैनन् । रोगलाई पेलेर काममा हिड्छन् । अनि सिकिस्त भएपछि कि काठमाडौं जानुपर्छ कि अकालमै मर्नुपर्छ ।’ स्वास्थ्य चौकी टाढा पर्ने भएकाले उपचार गराउन जान नमान्ने उनी बताउँछन् ।

न्याक गाउँमा करिब १५, २० जना क्षय रोगका बिरामी रहेको उनको भनाइ छ । ‘हाम्रो गाउँको घर होचो हुन्छ । अनि दाउराको चुलोमा खाना बनाउँदा बेस्सरी धुवाँ उँड्छ । यसले भान्से मात्र होइन, परिबारलाई नै समस्या हुन्छ । त्यसमाथि पनि गाउँका धेरैजसोले चुरोट खान्छन् । जाँडरक्सी पनि धेरै खान्छन्’, उनी भन्छन्, ‘त्यसैले टिबीको रोगी धेरै भएका हुन् ।’ सिकिस्तै भएपछि सहरतिर जँचाउन गएका धेरैमा क्षयरोगको समस्या देखिएको उनको भनाइ छ ।

सजिलै उपलब्ध हुने भएकाले गाउँका बिरामी प्राय धामीझाँक्रीको भरमा छन् । सिर्दिबास स्वास्थ्य चौकी पुग्न बिरामीलाई पाँचघण्टा भन्दा धेरै समय लाग्छ ।

बाटो धेरै उकालो ओरालो हुने र ढुङ्गा झरिरहने हुनाले गाउँका मान्छे उपचारका लागि स्वास्थ्य संस्था जानभन्दा धामी झाँक्री तथा जडिबुटीको भर पर्न बाध्य हुने गरेको अर्की स्थानीय ललिता गुरुङ बताउँछिन् । स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने परम्परा रहेको सिर्दिबास स्वास्थ्यचौकी की स्वास्थ्यकर्मी सोनी गुरुङ बताउँछिन् । ‘यहाँ आउने बिरामीमध्य धेरैमा क्षयरोग भेटिएको छ’, उनी भन्छिन्, ‘काठमाडौंका अस्पतालमा पुगेका यहाँका बिरामीमा पनि क्षयरोग भेटिएको सुनिन्छ ।’ समयमै परीक्षण गर्न नआउने र नियमित औषधी नखाने गर्नाले बिरामी बढेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्