| सोमवार, कार्तिक २३, २०८३

गण्डकी गाउँपालिकाको प्रशंसनीय काम, लक्षित विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउन छात्रवृत्ति

बिपन्न समुदायका बालबालिका एसईई पार गरिसकेपछि घरायसी समस्याका कारण पढ्न छोडेर कोही वैदेशिक रोजगारीमा जानेगर्छन् । कोही पढ्न छाडेर घरायसी काममै ब्यस्त हुने गर्छन् । यो अबस्थालाई मनन गरी गोरखाको गण्डकी गाउँपालिकाले त्यस्ता विद्यार्थीलाई प्राविधिक विषय पढ्न छात्रवृत्तिको ब्यबस्था गरेको छ ।

चालु शैक्षिक सत्रदेखि प्राविधिक विषयमा उच्च शिक्षा पढ्न चाहनेलाई छात्रवृत्तिको ब्यबस्था गर्ने गाउँपालिकाले जनाएको छ । विपन्न, अनाथ, शहीद परिबार, जनजाति तथा अतिसीमान्तकृत समुदायका बार्षिक चारजना विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न छात्रवृत्तिको व्यबस्था गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जानकारी दिए ।

‘गाउँपालिकामा प्राविधिक जनशक्ति तयार गर्ने पहिलो उद्देश्य हो’, उनले भने, ‘त्यसमाथि पनि हाम्रो गाउँपालिकामा चेपाङ, बोटे, माझी जस्ता अतिसीमान्तकृत समुदायको बसोबास छ । उनीहरुलाई प्राविधिक शिक्षा दिएर रोजगारीको अवसर प्रदान गर्न यस्तो नीति लिएका हौं ।’ यसबर्ष चार जना छनौट गरिसकिएको उनले बताए ।

उनीहरुलाई सिभिल सब इञ्जिनियर, मेकानिकल सबइञ्जिनियर, एचए, पशु तथा बाली बिज्ञान पढ्नका लागि छात्रवृत्ति दिन लागिएको गाउँपालिकाले जनाएको छ ।

विद्यार्थीलाई खुल्लाबाट एकजना, जनजातिबाट एकजना, दलितबाट एकजना, अतिसीमान्तकृत(बोटे, माझी, चेपाङ)बाट एकजनालाई छात्रवृत्ति दिने प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले जानकारी दिए । उनीहरुको कजेल शुल्क, खानेबस्ने शुल्क बापतको रकम छात्रवृत्तिस्वरुप प्रदान गरिने गुरुङले बताए ।

छात्रवृत्तिका लागि दाबेदार विद्यार्थीहरुलाई गणित, विज्ञान र अंग्रेजी बिषयमा ६० पूर्णाङ्कको लिखित परीक्षा उतीर्ण गर्नुपर्ने, २० पूर्णाङ्कको अन्तर्वार्ता उतीर्ण गर्नुपर्ने ब्यबस्था गाउँपालिकाले गरेको छ । एसईईको जिपिएको आधारमा पाँच पूर्णाङ्क प्रदान गरिने पनि अधिकृत गुरुङले बताए । अन्तर्वार्तामा गरिबलाई ५ पूर्णाङ्क, सहिद परिबालाई ५ पूर्णाङ्क र अभिभावकबिहिनलाई ५ पूर्णाङ्कमा मूल्याङ्कन गरिने पनि गाउँपालि को मापदण्ड बनाएको छ । छात्रवृत्तिका लागि यसबर्ष १० लाख रुपैयाँ बिनियोन गरेको छ । अपुग भए आवश्यकता हेरी पुन बजेट बिनियोजन गरिने गाउँ पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्