| शनिबार, मंसिर २१, २०७६

दरौंदी बिरिमकाली खानेपानी आयोजना निर्माण सुरु

गोरखा नगरपालिकाको तीनवटा वडाका लागि दरौंदी बिरिमकाली पम्पिङ खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । गोरखा नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दाको घर घरमा पानी पु¥याउने लक्ष्यका साथ आयोजनाको निर्माण सुरु भएको संघीय खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय लमजुङका प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिए ।

तीनबर्षअघि सो आयोजनाको सर्वेक्षण गरेर लागत स्टमेट सहित एक करोड २० लाख रुपैयाँको लागतमा तीनवटा ट्याङ्की निर्माण भैसकेको थियो । तर तत्कालीन स्रोतबाट स्थानीय सबैलाई पानी पु¥याउन नसक्ने भएकाले डिजाईन परिमार्जित गर्न खानेपानी विभागसँग अनुमति लिएर नयाँ डिपिआर अनुसार निर्माण सुरु भएको कार्यालय प्रमुख काफ्लेले बताए ।

आयोजना निर्माणका लागि संघीय खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय लमजुङ र कन्काई गोरखा भीमेश्वर जेभी बीच असार ३० गते ठेक्का सम्झौता भएको छ । ४७ करोड रुपैयाँको लागतमा बन्ने आयोजना सम्झौता भएको मितिले ३० महिनाभित्र निर्माण सम्पन्न हुनुपर्नेछ । आयोजना अन्तरगत अहिले टयांकी निर्माण तथा पाइपलाईन खरिदको काम भैरहेको ठेकेदार कम्पनीका सहदेव खड्काले जानकारी दिए ।आयोजनाका लागि स्थानीय उपभोक्ताले २० प्रतिशत लागत बेहोर्ने कार्यालय प्रमुख काफ्लेले जानकारी दिए । उपभोक्ताले कुल लागतको एक प्रतिशत रकम र १९ प्रतिशत रकम बराबरको जनश्रमदान गर्नुपर्छ । मन्त्रालय बाट बहुबर्षीय खरिद गुरुयोजना स्वीकृत गराएर आयोजना निर्माण सुरु गरेको उनको भनाई छ ।

आयोजना अन्तरगत दुई लाखदेखि चारलाख लिटरसम्म क्षमता भएका छ वटा पानी टयाङ्की निर्माण हुने उनको भनाई छ । दरौंदी नदीदेखि थुम्काचुली डाँडासम्म फरक फरक ठाउँमा रहेका टयाङ्की मार्फत उपभोक्ताको घरमा पानी वितरण गरिनेछ । मुहानदेखि अन्तिम टयाङ्कीसम्म पानी पु¥याउन चार ठाउँमा लिफ्टिङ गर्ने डिपिआरमा उल्लेख छ ।

आयोजनाबाट गोरखा नगरपालिका वडा नं ११ का सबै, वडा नं १२ का शिखरडाँडा, जोगीगाउँ, वडा नं १० को बीरेन्चोक, डुँडेगैह्रा, चैनपुर लगायतका ठाउँमा पानी उपलब्ध गराईने उपभोक्ता समितिका अध्यक्ष राजकुमार कोइरालाले बताए । सो ठाउँका बासिन्दा हाल ढुंगेधारा लगायत प्राकृतिक स्रोतको पानी प्रयोग गर्दै आएका छन् । खडेरीमा मुहान पनि सुक्ने भएकाले खानेपानीको निकै समस्या रहेको गोरखा नगरपालिका ११ का वडाअध्यक्ष रामबहादुर खडकाले बताए । आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आबश्यक निगरानी र अनुगमन गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्