
गोरखामा पनि गरिमाको धान फलेन, क्षतिपूर्ति दिन माग
किरण लोहनी :
उन्नत जातको भनेर लगाइएको गरिमा जातको धानमा फल नलागेपछि लगाएका गोरखा पालुङटार नगरपालिकाको विभिन्न क्षेत्रका किसान चिन्तित बनेका छन् । पालुङटारको वडा नम्वर ५ गौंडा बगर र चारकुने फाँटका अधिकाँश कृषकले लगाएको धानमा बाला नलागेको होरु। असोज अन्त्यसम्ममा पनि धानमा बाला नलागेपछि किसान निराश भएका वडा सदस्य संसरी तामाङले बताइन् ।
‘राम्रो फल्ने, उन्नत जातको धान भनेर हामीले तनहुँको तुरतुरेको एग्रोभेटबाट बिऊ किनेर ल्याएका थियौं’, उनले भनिन्, ‘तुरतुरेबाट किनिएको बिऊमा धेरथोर बाला लागेपनि चितवनबाट ल्याइएको बिऊमा भने बालै लागेन ।’ किसानले प्रतिकिलो चारसय रुपैयामा बिऊ किनेर ल्याएका थिए । गौंडाबगर गाउँका मात्रै करीब ४५ कृषकले गरिमा जातको धान रोपेका थिए । चारकुने फाँटमा पनि झण्डै एक हेक्टर क्षेत्रफलमा लगाइएको गरिमा जातमा बाला नलागेको कृषकले बताएका छन् ।
सामान्यतया अहिले धान काट्ने र थन्क्याउने बेला भएपनि धानमा बालै नलागेको र बाला लागेको खेतमा पनि उत्पादन घटेको भन्दै किसान निराश भएका हुन् । पालुङटार ५ बगरफाँटको करीव ३ हेक्टर जमिनमा किसानले गरिमा जातको धान लगाएका हुन् । त्यसमध्यको करीव २८ रोपनी खेतमा भने अहिलेसम्म धान हरियो नै रहेको र कत्तिपनि बाला नलागेको स्थानीय देउराली आदर्श कृषक समूहका अध्यक्ष निर्मलकुमार श्रेष्ठले बताए । ‘उही बिऊ लगाएका कोहीको धान फल्यो, कोहीको बालै लागेन, हामी पनि आश्चर्यमा परेका छौं’ उनले भने, ‘अन्य जातको धान फले पनि गरिमा जातको धान मात्रै फलेन, त्यसमा पनि चितवनबाट ल्याएको बिऊमा बाला पनि लागेन, तुरतुरेको बिऊमा चाहिँ अलिअलि फल्यो ।’
श्रेष्ठ अध्यक्ष रहेको कृषक समूहले गतवर्षहरुमा पनि धानको विऊ खरीद गरेर ल्याई किसानलाई वितरण गर्दै आएको थियो ।
यो वर्ष गरिमा जातको हाइब्रिड बिऊको चर्चा भएपछि समूहले तनहुँको तुरतुरेको एग्रोभेटबाट बिऊ ल्याएको थियो । केही किसानले भने चितवनबाट बिऊ ल्याएका थिए । उही जातको भएर पनि चितवनबाट ल्याइएको बिऊमा भने बाला लागेको कृषक समूहका अध्यक्ष निर्मल कुमार श्रेष्ठले जानकारी दिए । ‘बाला लागेको खेतमा पनि धानको उत्पादन भने घट्ने देखिन्छ, यहाँ एक रोपनीमा ९÷१० मुरीसम्म धान फल्थ्यो, अहिले त आधै घट्ला जस्तो छ ।’
दुख गरेअनुसार फल नपाइएको भन्दै निराश भएका किसानले सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । धान उत्पादन नभएको विषयमा कृषि ज्ञानकेन्द्रलाई पनि जानकारी गराइएको वडा सदस्य संसरी तामाङले बताइन् । ज्ञानकेन्द्रका बाली संरक्षण अधिकृत भवनाथ देवकोटाले उक्त ठाऊँको धान खेतीको अध्ययन गरिएको बताए । देशैभर गरिमा जातको धानमा फल नलागेपछि प्राविधिक अध्ययन भैरहेको उनको भनाई छ ।




