| मङ्लबार, कार्तिक २६, २०७६

अबको एक महिनाभित्र गोरखा बजारमा दरौंदीको पानी छेलोखेलो

अनुपमा खनाल :

विद्युत लाईन विस्तारमा अबरोध हुँदा दरौंदी लिफ्टिङको पानी वितरणको काम पछि सरेको छ ।

दशैं अघि नै गोरखा सदरमुकाम क्षेत्रमा दरौंदीको पानी वितरण गर्ने तयारी भएपनि प्रभावित क्षेत्रका स्थानीय बाट विद्युत लाईन विस्तारमा अबरोध हुँदा काममा ढिलाई भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लमजुङले जनाएको छ । आयोजनाको लागि विद्युत पोल गाड्ने तथा ट्रान्सफर्मर राख्ने जग्गाका विषयमा स्थानीयले अबरोध गरेपछि काममा ढिलाई भएको कार्यालय प्रमुख रामचन्द्र काफ्लेले बताए । ‘दुईचार ठाउँमा स्थानीय बाट नै अबरोध भयो’ उनले भने ‘उपभोक्ता समिति, जनप्रतिधि सबैको सहयोगमा अहिले अबरोध हटेर पोल गाड्ने, तार टाँगने र ट्रान्सफर्मर राख्ने काम भैरहेको छ ।’

विद्युतको काम सम्पन्न हुनासाथ दरौंदी लिफ्टिङको पानी वितरण सुरु हुने उनको भनाई छ । ‘हामी पानी वितरणका लागि विद्युत बाहेक अन्य प्राविधिक काममा पुर्ण तयारी अबस्थामा छौं ।’ उनले भने । अबको एक महिनामा दरौंदी लिफ्टिङको पानी उपभोक्ताको घर घरमा पुग्ने उनको विश्वास छ ।

आयोजना सम्पन्न भएपछि चौबीसै घण्टा खानेपानी सेवा उपलब्ध हुने पनि उनले बताए । ‘गोरखा बजार क्षेत्रमा अब माग अनुसार पानी आपुर्ति हुन्छ’ उनले भने ‘प्रतिसेकेन्ड ३१ लिटरको दरले पानी तान्छ ।’

२०७४ असार २७ गते ३ वर्ष्भित्र काम सक्ने लक्ष्यका साथ तुदिरमन जेबी कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । तर लक्ष्य भन्दा अघि काम भएको हो । दरौंदीको जरेवरबाट उपल्लो कोटको टयांकीसम्म पानी लिफ्ट गरेर वितरण गरिनेछ । पानी वितरण गर्न २० देखि ६ सय घनमिटर क्षमताका २३ वटा ट्यांकी बनाईएको छ ।

गोरखा नगरपालिकाको वडा नं ३ देखि वडा नं ८ का बासीन्दालाई पानी उपलब्ध गराउने लक्ष्य लिएको सो आयोजनाको लागत ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । आयोजनाबाट चार हजार आठ सय ४८ घरका करीब २५ हजार बासीन्दा लाभान्वित हुने भएका छन् ।

आयोजनाको पानी प्रसोधन तथा शुद्धिकरण गरेर मात्रै उपभोक्ताको धारामा पठाईने कार्यालय प्रमुख काफ्लेले जानकारी दिए ।
खानेपानी तथा ढल निकास विभागको सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत आयोजना निर्माण भएको हो । यस आयोजनामा उपभोक्ताको १० प्रतिशत लागत सहभागिता रहेको छ ।

दरौंदी लिफ्टिङ आयोजनाको पानी सदरमुकाम क्षेत्रमा रहेको खानेपानी उपभोक्ता समितिलाई बेच्ने र समिति मार्फत उपभोक्तालाई पानी वितरण गरिने दरौंदी लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष बद्रि मास्केले जानकारी दिए ।
दरौंदी लिफ्टिङको पानी गोरखा बजारको मुख्य क्षेत्र सहित नारेश्वर घलाङ, आहाले लगायतका क्षेत्रमा पनि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्