| मङ्लबार, कार्तिक २६, २०७६

गोरखा अस्पताललाई साधनस्रोत सम्पन्न बनाउँदै प्रदेश सरकार

अनुपमा खनाल :

गोरखा जिल्ला अस्पताललाई गण्डकी प्रदेश सरकारले अत्याधुनिक स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालका लागि आवश्यक पर्ने उपकरणको विवरण संकलन गरेको हो ।

अस्पताललाई अत्यावश्यक परेका उपकरण आगामी पुष महिनासम्ममा उपलब्ध गराउने तयारी भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति ब्यवस्था शाखाका निर्देशक खिमबहादुर खड्काले बताए ।‘प्रदेश अन्तर्गतका सबै अस्पताललाई आवश्यक परेको उपकरणको विवरण संकलन गरेका छौं’ उनले भने, ‘अब अस्पताललाई आवश्यक परेका उपकरणमध्ये प्राथमिकतामा आधारमा क्रमैसँग उपलब्ध गराउँदै जान्छौं ।’

गोरखा अस्पतालले तत्काललाई आवश्यक पर्ने पोर्टेवल भिडियो एक्स रे, इसिजि मेशिन, थाइराइड जाँच गर्ने मेशिन माग गरेको सूचना अधिकारी कृष्ण ढकालले बताए । ‘हामीसँग अहिले ठूलो आकारको भिडियो एक्सरे मेशिन चाहिँ छ, त्यो यताउता लैजान मिल्दैन’ उनले भने, ‘पोर्टेवल भिडियो एक्सरे मेशिन आयो भने सिकिस्त बिरामी भएकै ठाऊँमा लगेर एक्सरे गर्न सकिन्छ ।’ यस्तै हर्ट अट्याक भएर मुटु बन्द भएकाहरुलाई विद्युतीय झड्का दिएर मुटु सञ्चालन गर्ने डिफिब्रिलेटर मेशिन, गर्भमा रहेका बच्चाहरुको मुटुको धड्कन मापन गर्ने फिटल डप्लर, दुईवटा हेमोडाइलाइसिस मेशिन लगायतका उपकरण माग गरिएको ढकालको भनाई छ ।

यस्तै दाँत सम्बन्धी उपचारका क्रममा बिरामीलाई सुताउने डेन्टल चेयर, दाँतको डिजिटल एक्सरे मेशिन, दाँत जरैदेखि भर्ने उपकरण पनि माग गरिएको ढकालले बताए । ‘हामीले आवश्यक परेका मेशिनको सूची उपलब्ध गराएका छौं, चरणवद्ध रुपमा उपलब्ध गराउने कुरा भएको छ’ उनले भने, ‘केही उपकरण मात्रै थप्न सकियो भने पनि अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विश्वास गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्