
बोर्लाङ स्वास्थ्य चौकी पाँचबर्षमा पनि बनेन, बिरामीहरु त्रिपालबाटै स्वास्थ्य सेवा लिन बाध्य
लामो समयसम्म भवन निर्माण नहुँदा भीमसेन गाउँपालिका ७ बोर्लाङका बासिन्दा त्रिपालभित्रै स्वास्थ्य सेवा लिन बाध्य छन् । पाँचबर्षदेखि चेकजाँच, उपचार तथा प्रशुती सेवाको काम त्रिपालभित्रै लिनु परेको स्थानीयबासी बताउँछन् ।
एक करोड ८० लाख रुपैयाँमा बोर्लाङ स्वास्थ्यचौकी बनाउन धुलिखेल कन्स्टूक्शनको तर्फबाट नारायण श्रेष्ठले २०७१ बैशाखमा सम्झौता गरेका थिए । श्रेष्ठ अहिले सो वडाको जननिर्वाचित अध्यक्ष तथा स्वास्थ्यचौकी सञ्चालक समितिको अध्यक्ष पनि हुन् ।
उनले २५ प्रतिशत घटेर भवन निर्माणको ठेक्का लिएका हुन् ।
स्वास्थ्यचौकी भवन नहुँदा बिरामीहरु त्रिपालभित्र उपचार गर्न नआउने स्वास्थ्यकर्मीहरुको गुनासो छ । ‘साबिक बोर्लाङ गाविस, अहिले भीमसेन थापा गाउँपालिका वडा नं. ७ र ८ का पन्द्रसय घरधुरीका बिरामी यो हेल्थपोष्टका सेवाग्राही हुन्’, तत्कालीन हेल्थपोष्ट इन्चार्ज कुमार सुनार भन्छन्, ‘तर त्यस्तो पालभित्र पनि के उपचार हुन्छ र, भनेर कोही पनि यहाँ छिर्न मान्दैनन् ।’ एउटै पालभित्र ओपिड सेवा र प्रशुती सेवा पनि दिनु परेकाले समस्या भएको उनको भनाइ छ । ‘घामलाग्दा पालभित्र गर्मीले उखुम हुन्छ । पानी पर्दा पानी पस्छ । उवाएर फाल्दैमा हैरान’, उनले भने, ‘नजिकै प्रिफेब भवन त छ तर त्यहाँ औषधी र अरु उपकरण राखेर भरिएको छ । पालभित्र बिरामीहरु गोपनीयता खुल्ने डरले बिरामी आउँदैनन् ।’
महिलाहरुलाई पालभित्र प्रसुती सेवा लिन समस्या भएको बोर्लाङ बर्थिङ सेन्टरकी अनमी रमिला श्रेष्ठ बताउँछिन् । ‘यस्तोमा पनि के सेवा पाइन्छ र भनेर गर्भवतीहरु सेवा लिन आउन मान्दैनन्’, उनी भन्छन्, ‘प्राय गर्भवती महिलाहरु गोरखा अस्पताल नै जान्छन् ।’
आफै अध्यक्ष र ठेकेदार हुँदा पनि निर्माण कार्य सम्पन्न नगर्दा बिरामीहरुलाई असुविधा भइरहेको स्थानीय टंकबहादुर श्रेष्ठ बताउँछन् । ‘१८ महिनाभित्र निर्माण गरिसक्छु भनेर नारायण श्रेष्ठले ठेक्का सम्झौता गरेको हुन्’, स्वास्थ्यचौकीका तत्कालीन अध्यक्ष श्रेष्ठले भने, ‘६६ महिना बितिसक्यो । खै अझै पनि बनेको छैन । भूकम्पपछि अरु ठाउँको स्वास्थ्यचौकी धमाधम बनिसके । हाम्रो स्वास्थ्यचौकी पहिल्यै बनाउन थालेको भनेर कसैले पनि हात हालेनन् । अहिले यता न उता भयो ।’
वडा अध्यक्ष र स्वास्थ्य चौकीको अध्यक्ष पदसमेत सम्हालेका नारायण श्रेष्ठले भने बजेट अभावका कारण भवन निर्माण गर्न नसकेको दाबी गरेका छन् । ‘ढिला भएकोमा म गल्ती स्वीकार गर्छु तर एकतर्फी मात्र हेर्नु भएन’, उनले भने, ‘२५ प्रतिशत घटेर लिएर अर्को गल्ती गरेँ । करोड ८० लाख रुपैयाँ अहिलेसम्म ४५÷५० लाख रुपैयाँमात्र भुक्तानी पाएको हुँ । ढिला भएको भनेर भुक्तानी नै पाएको छैन । काम त करिब ९० प्रतिशत पूरा गरेको छु । तीनबर्षदेखि कत्तिपनि भुक्तानी पाएको छैन कसरी काम गरुँ ?’ संघीय मन्त्रालयबाट प्रदेश मन्त्रालयमा गएको, म्याद थप नगरिएको, तीनफेर वैंक ग्यारेण्टीसहित निवेदन दिँदा पनि सुनुवाई नभएको उनको गुनासो छ ।




