
मनास्लुको फेदीमा मनास्लु ड्रप पानी उद्योग सञ्चालन
गोरखाको हिमालपारि सिर्दिबास मा प्रशोधित खानेपानी उद्योग सञ्चालन गरिएको छ । चुमनुब्री ३ फिलिममा मनास्लु डूप इण्डस्टिूज नामको उद्योग सञ्चालन गरिएको हो ।
स्थानीय चार जना युवा उद्यामीहरुले आठ लाख रुपैयाँको लागतमा गत भदौ २५ गतेदेखि मनास्लु डूप पानी उद्योग सञ्चालन गरेको सञ्चालक मध्यका एक चुमनुब्री ६ लोक्पाका लाक्पा लामाले जानकारी दिए ।
चुमनुब्री गाउँपालिका ६ लोक्पाका लाक्पा लामा(सरोज), वडा नं. ५ बिहीका थार्पा लामा, वडा नं. ३ न्याकका समिर लामा र न्याककै निर्भिक गुरुङको समूहले प्रशोधित पानी उद्योग सञ्चालन गरेका हुन् ।
मनास्लु क्षेत्र र चुम उपत्यका भ्रमणमा आउने पर्यटकको मागलाई ध्यानमा राखी प्रशोधित खानेपानी उद्योग सञ्चालन गरेको सञ्चालकमध्यका लाक्पा लामाको भनाइ छ । ‘विदेशी पर्यटकहरु सिधै मूलको पानी खानुभन्दा प्रशोधित पानी खान चाहन्छन् । तल सहरबाट ल्याएको प्रशोधित पानी पुरानो हुने भएकाले यहीँको स्वच्छ पानीलाई प्रशोधन गरी खानयोग्य बनाउन उद्योग सञ्चालन गरेको हो’, उनले भने, ‘यहाँको पानी तल्लो भेगको भन्दा धेरै गुना शुद्ध, खनिजयुक्त पनि हुने र ताजा पनि हुने भएकाले विदेशीले मन पराउँछन् ।’ पसलको पानी खान चाहने स्वदेशीहरुले पनि यो पानी मन पराएको उनले बताए ।
मनास्लु डूप प्रतिबोत्तल ४० रुपैयाँमा बिक्री गर्ने गरेको सञ्चालकहरु बताउँछन् । यसअघि आरुघाट, आर्खेतबाट खच्चडमा बोकाएर ल्याएको पानी प्रति बोत्तल ६५ देखि एकसय रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको थियो ।
चुमनुब्री १ सामागाउँका घ्याल्जेन लामाले २०७१ सालदेखि सामागाउँमा मनास्लु डूप इण्डस्टिूज नामको प्रशोधित पानी उद्योग सञ्चालन गरेका छन् । सोही उद्योगको शाखाको रुपमा अहिले फिलिममा उद्योग सञ्चालन गरेको उनले बताए ।
सो समूहले चारवटा मुलको पानी परीक्षण गरी फिलिमको मूलको पानीमा उद्योग सञ्चालन गरेको उनले बताए ।




