| आइतवार, कार्तिक ३, २०७६

गोरखामा पनि डेँगु ? गोरखा नगरपालिकाभित्रै पाँच संक्रमित भेटिए

 

किरण लोहनी :

गोरखामा हालसम्म पाँच जनामा डेंगु रोगको संक्रमण रहेको पाइएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभित्रै उपचार गराईरहेकामध्ये पाँच जनामा संक्रमण रहेको पाइएको हो । संक्रमित पाँचै जना गोरखा नगरपालिकाका बासिन्दा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

‘हामीले सरकारी र गैरसरकारी अस्पतालहरुबाट बुधवार विवरण संकलन ग¥यौं’, कार्यालयका सूचना अधिकारी नवराज खड्काले भने, ‘उपचारका लागि एपोलो अस्पतालमा तीन जना आएका र आमा बा अस्पतालमा आएका २ जनामा डेंगुको संक्रमण भेटिएको जानकारी प्राप्त भएको छ ।’ गोरखा जिल्ला अस्पतालमा भने मंगलवारबाट मात्रै डेंगुको परिक्षण हुन थालेको छ । यसअघि परिक्षण किटको अभावमा त्यहाँ डेंगु लागे नलागेको परिक्षण हुन सकेको थिएन । तर गोरखा अस्पतालले शंका लागेर चितवन पठाएका कतिपय बिरामीमा डेंगुको संक्रमण भेटिएको जानकारी आएको खड्काले जानकारी दिए । गोरखा सदरमुकामस्थित जिल्ला अस्पताल, आरुघाट, जौवारी र मकैसिंङ प्राथमिक स्वास्थ्य केन्द्र तथा केही नीजि अस्पतालहरुमा डेंगु रोगको परिक्षण हुने गरेको छ ।

आसपासका जिल्लाहरुमा डेंगु रोगका बिरामी देखिन थालेपछि गोरखामा पनि सतर्कता अपनाउन थालिएको छ । तनहुँ, कास्की, चितवन लगायत आसपासका जिल्लामा यसअघि नै डेंगु संक्रमित भेटिन थालेका थिए । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग लाग्न नदिन लामखुट्टेको नियन्त्रण नै महत्वपूर्ण कदम भएकाले सोही अनुसारका सतर्कताका विधिहरु कार्यान्वयन थालिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए ।

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स(साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ ।

खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली डूमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी लगायत ठाऊँमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको खड्काले बताए । पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली डूमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न नदिन, पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्न, फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्न स्वास्थ्य कार्यालयले सल्लाह दिएको छ । यस्तै घरका झ्याल ढोकामा जाली लगाउन, (घर वरिपरि सफा सुग्घर राख्न, पानी जम्ने खाल्टा खुल्टी पुर्न पनि स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्