| आइतवार, बैशाख १४, २०८२

प्रधानन्यायधीशले गोरखा दरबारमा भने ‘हे गोरखनाथ न्याय दिने शक्ति मिलोस्’ 

गोरखा ः कामु प्रधानन्यायधीश दीपकराज जोशीले सोमबार गोरखाकाली र गोरखनाथको पुआआजा गरेका छन् ।नेपाली सेनाको हेलीकोप्टर चढेर स–परिवार गोरखा आएका जोशीले गोरखकाली मन्दिरको विशेष पुजा गरे ।

गोरखकाली मन्दिर र गोरखनाथ गुफा रहेको ठाउँ गोरखा बजारबाट तीन किलोमिटर माथिल्लो डाँडामा पर्छ । त्यहाँ उनले पहिले गोरखकालीको भित्रि कोठामा गएर आधाघण्टा पूजाआजा गरे । मन्दिरका पुजारी शारदाप्रसाद भट्टराईसंग टिका लगाए । भित्रिया सुसारेहरुसंग कुराकानी गरे । कर्खा गाउने गाइनेसंग भलाकुसारी गरे र गोरखनाथ गुफातर्फ लागे ।

गोरखनाथको गुफाभित्र पस्दै उनले त्यहाँ उपस्थित पूजारी प्रदीपनाथ योगी लगायतको शिष्टाचार फर्काए । गोरखनाथको पादुका रहेको भित्रि कक्षमा प्रवेश गरेपछि उनले भने ‘यहाँभित्र छिरेपछि त कमरेड भन्दै मुठी उठाउनु भएन नि, नमस्कार गर्नुप¥यो ।’ उनको कुराले उपस्थितहरुमा हाँसोको फोहोरा छुटेको थियो ।

करिब १० मिनेटको गोरखनाथको पूजा सकेपछि प्रधानन्यायधीश जोशीले रोटघरमा नाथ सम्प्रदायका अन्य योगीहरुसंग भेटघाट गरे । गोरखनाथको बिगुत ग्रहण गर्दै उनले भने ‘हे गोरखनाथ उत्कृष्ठ न्याय सम्पादन गर्ने शक्ति देऊ ।’ नाथले धेरैबेर भट्याएर आशिर्वाद दिएपछि निर्माणाधीन गोरखा दरबारको अबस्था, गोरखा दरबार हेरचाह अड्डाको अबस्थाको निरीक्षण गरे ।

गोरखा जिल्ला अदालतको नियमित निरीक्षणको क्रममा समेत आएका कामु प्रधानन्यायधीश जोशीले जिल्ला अदालतमा प्रहरीको सलामी ग्रहण गरे । जिल्ला न्यायधीश वसन्तराज पौडेलले १६ करोड रुपियाँको लागतमा निर्माणको चरणमा रहेको जिल्ला अदालतको बारेमा जानकारी गराए ।

सोमबार दिउसो करिब ११ बजे कामु प्रधानन्यायधीश जोशी तनहूँ जिल्ला अदालतको निरीक्षणका लागि प्रस्थान गरे ।

 

प्रतिक्रिया दिनुहोस्