| शुक्रबार, अशोज ३, २०७६

रेमिट्यान्स ल्याएर गाउँमा ब्यबसाय गर्ने क्रम बढ्यो : इजराइलको सिकाइले सफल परशुराम

आफ्नो गाउँघरमा गरे त्यही काम घटिया, विदेशमा गरे त्यही काम प्रतिष्ठित हुन्छ भन्ने हाम्रो समाजको रुढि सोचाइले घर गरिरहेका बेला विदेशमा गएर किसानी सिक्ने अनि गाउँमा आएर ब्यबसाय गर्नेहरु अहिले बढिरहेका छन् । गाउँगाउँमा समूहगत वा एकल रुपमा कृषि तथा पशु फर्म सञ्चालन गर्नेहरुको संख्या बढि रहेको हो ।

घरमा कृषि र पशु स्याहार्ने कामले दिक्क भएर सन् २००४ मा इजरायल पुगेका गोरखा नगरपालिका ८ डुम्रीडाँडाका परशुराम बस्नेतले त्यहाँ पनि पशु तथा, कुखुरा फर्ममा काम गर्नुप¥यो । कमर्समा स्नातक पढिसक्दा पनि नेपालमा बसेर त्यसमाथि पनि कृषि पेशाबाट कहिल्यै उँभो लाग्न सकिदैन भन्ने उनको दिमागमा थियो । त्यसैले तीनलाख रुपैयाँ ऋण लिएर उनी इजरायल गएका थिए ।

तर जब इजराइलमा पनि कुखुरा फर्ममा काम गरे, उनमा कृषि पेशाले कसरी उँभो लाग्न सकिन्छ भन्ने राम्रोसंग जान्ने अवसर मिल्यो ।
फर्ममा काम गर्दागर्दै एकदिन उनको दिमागमा क्लिक भयो, यस्तो ब्यबसाय म आफ्नो गाउँमा पनि गर्नसक्छु । त्यसपछि उनले काम मात्र गरेनन्, यदि मैले यस्तै ब्यबसाय गरेँ भने के के गर्नुपर्दो रहेछ भनेर पनि नोट गर्न थाले ।

आठबर्ष लामो इजराइल बसाइमा उनले ४५ लाख भन्दा धेरै कमाइ गरे । त्यसले उनले सोचेजस्तो पशुफर्म सञ्चालन गर्न पुग्थेन तर प्रारम्भिक खर्च पुग्थ्यो ।

सन् २०१२ मा उनी घर फर्किए । बस्नेत पोल्टूी फर्म नामको ब्यबसाय दर्ता गरे । सुरुमा आफ्नै घर आसपासको जग्गामा कुखुरा पालनका लागि फर्म बनाए । सुरुमा खोरमा बोइलरका तीनहजार वटा चल्ला हाले । त्यसबाट अलिअलि आम्दानी हुन थालेपछि अल्लि पर पहिलेको भन्दा ठूलो खोर बनाए र १० हजार कुखुरा पाल्न थाले । त्यसबाट पनि उनलाई राम्रै आम्दानी भयो ।

अब एक दुईबर्ष बोइलर फर्म सञ्चालन गरेपछि उनलाई फेरि त्यही अबस्थामा बसिरहन मन लागेन । ‘सँधै यत्रै साइजको ब्यबसाय चलाइरहेर त भएन भनेर मैले अब अलिकति पेशा बदल्ने सोचेँ’, उनी भन्छन्, ‘त्यसपछि मैले लेयर्सको छ हजार वटा चल्ला हालेँ ।’ डेढबर्षअघिदेखि उनले गोरखा नगरपालिका १० छेपेटारमा लेयर्स कुखुरा फर्म पनि सञ्चालन गरेका छन् ।

उनको व्यबसाय दिन, महिना, बर्ष हुदै बढ्दै बढ्दै गयो । उनीजस्तै अरु तीन जना मिलेर गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा फेरि अर्को फर्म सञ्चालन गरे । मनकामना कृषि तथा पशुपंक्षी फर्म नाममा दर्ता भएको सो फर्ममा ८७ लाख रुपैयाँ लगानी गरेर १० लाख वटा माछा, १५० वटा बङ्गुर र सातहजार वटा ब्रोइलर जातको कुखुरा पालन गरेका छन् । बिभिन्न चार वटा फर्म सञ्चालन गरेको आठ बर्षे अनुभव छ उनीसंग । चारवटा कृषि तथा पशु फर्मले पनि उनको मन बाँध्न सकेन । हालसालै उनले अर्को ठूलो फर्म सुरु गरेका छन् । कृषि विकास वैंकबाट दुई करोड ७० लाख रुपैयाँ ऋण लिएर गोरखा नगरपालिका ८ लुदीखोला फाँटमा २६ रोपनी जग्गा किने । आफूसंग भएको करिब डेढ करोड गरी करिब चार करोड रुपैयाँ खर्च गरेर खोर तथा अन्य पूर्वाधार संरचना बनाएका छन् । त्यहाँ २२ हजार वटा लेयर्स जातको कुखुरा पाल्न लम्बाइ २६० मिटर चौडाइ ३० मिटर भएको चार वटा खोर बनाए । अहिले त्यहाँ अण्डा उत्पादन गर्ने लेयर्स जातको कुखुरा पालन सुरु गरेका छन् ।

४५ बर्षका परशुराम अहिले पाँच वटा फर्मका मालिक बनेका छन् । कुखुरा व्यवसायी संघ गोरखाका अध्यक्ष पनि हुन् । भन्छन्, ‘म अब ठूलो फर्मको मालिक भएँ, अब मैले अरुलाई काम अह्राएर आफू मालिक बनेर हिड्नु पर्छ भन्ने मैले कहिल्यै सोच्दिन । मलाई अब पुग्यो, थाकेँ भन्ने अनुभूति पनि कहिल्यै लाग्दैन । म निरन्तर काम गरिरहन्छु । गरिरहनेछु ।’

विदेशले आफूलाई काम गर्न सिकाएको उनी बताउँछन् । ‘अहिले म जे छु, जहाँ छु, यो आठबर्षको बिदेश बसाइले बनाएको हो’, उनी भन्छन्, ‘विदेशमा गएपछि जसले पनि तीन महिनाभित्रै राम्रो पाठ सिक्छ । बास्तविक जीवन कसरी जिउने भन्ने विदेशमा सिकिने रहेछ । त्यहाँ कामको सम्मान हुन्छ । को ठूलो, को सानो, सबैले काम गरेको देखिन्छ काम गरेर खानु पर्ने रहेछ भन्ने सिकिन्छ । त्यसैले विदेश गएर आएको मान्छेले व्यबसाय चलाएको उदाहरण धेरै देख्न पाइन्छ ।’ नेपालमा गाउँघरमा चिया भट्टीहरुमा देशविदेशका, राजनीतिक वा बिभिन्न बिषयको गफ हाँकेर बस्नेदेखि दिक्क लाग्ने उनी बताउँछन् । ‘यहाँ सुतेर, बसेर, चोक, चौतारामा, भट्टीमा गफ गरेर, तास वा क्यारेमबोर्ड खेलेर बस्नेहरु देखेर मलाई नमज्जा लाग्छ’, उनी भन्छन् ।

अहिले उनी जहाँ छन्, गर्व गर्ने ठाउँमा छन् । ‘म धनी परिबारको मान्छे होइन । तीनलाख रुपैयाँ पनि ऋण काढेर म इजराइल गएको थिएँ’, उनी भन्छन्, ‘अहिले दुख गरेको छु । तर जहाँ छु, गर्व गर्ने ठाउँमा छु ।’ व्यवसायमा सँधै नाफा मात्र हुदैन । व्यवसाय गर्ने मान्छेले कहिलेकहीँ नोक्सान पनि हुन्छ कि भनेर सोच्नुपर्छ तर नोक्शान पर्यो भनेर आत्तिने, पछि हट्न नहुने उनको धारणा छ । ‘बिजनेशमा सँधै कोही पनि कुद्दैन । कहिलेकहीँ ब्रेक पनि लाग्छ तर किन ब्रेक लाग्यो, के ग¥यो भने अब अघि बढ्छ भनेर विश्लेषण ग¥यौं भने कारण पत्ता लागिहाल्छ । समस्यासंगै समाधानको उपाय पनि पत्ता लाग्छ’, उनी भन्छन्, ‘अनि समस्या समाधान गर्दै अघि बढ्नु पर्छ । पछि हट्नु हुदैन ।’

चुनौतीहरु :

चुनौती सबै क्षेत्रमा हुन्छन् । चुनौतिबिहिन व्यबसाय नै हुदैन भन्छन् उनी । कृषि तथा पशुपालन ब्यबसायको सबैभन्दा ठूलो चुनौती ‘बिचौलिया’ उनको ठम्याइ छ । ‘हामीले उत्पादन गर्दा एउटा अण्डालाई नाफा लिएर आठ रुपैयाँ पर्छ तर उपभोक्ताको हातमा पुग्दा मूल्य तीनभाग धेरै पर्छ । एक भाग किसानको हातमा हुन्छ, दुई भाग बिचौलियाको हातमा पर्छ । सबैभन्दा दुख लाग्दो कुरा यहीँ छ ।’ यदि मार्केटको जिम्मा सरकारले लिने हो भने बास्तविक उत्पादकलाई पनि राम्रो हुने, उपभोक्तालाई पनि न्याय हुने उनी बताउँछन् ।
दोस्रो चुनौती, व्यवसायीलाई संरक्षण गर्ने खालको नीति, नियम, कानून छैन । बास्तविक किसानलाई सरकार चिन्दैन । आफन्त किसान, नेता, कार्यकर्ता किसान, भाषण गर्ने किसानलाई मात्र सरकारले चिन्ने उनको गुनासो छ । ‘हामी काम गर्ने किसान हौं, बास्तबमा भन्ने हो भने हामी बोल्न जाँदैनौं । हामी नेता, हाकिमलाई चिन्दा पनि चिन्दैनौं किनभने हामी सँधै फर्ममा काममा तल्लीन हुनुपर्छ । अनुदानको सूचना कहाँ निस्कियो, कहिले निस्कियो, कसरी निवेदन दिने हामीलाई थाहै हुदैन’, उनी भन्छन्, ‘अनुदान त त्यस्ताले पाउँछन्, जसलाई सूचना निस्कनेबित्तिकै नेताले, हाकिमले टेलिफोन गरेर खबर गर्छन् । उसको नाममा अनुदान आउँछ मिलेर खान्छन् ।’ आफूहरुलाई मिलाएर बोल्न पनि नआउने उतर टपर्टुइयाँ किसानले बिभिन्न नाममा लाभ लिइरहने गरेको उनी बताउँछन् ।

तेस्रो चुनौती किसानलाई हेर्ने दृष्टिकोणको छ । ‘यदि आफ्ना बुबा किसान छन् भने अरुले त के आफ्नै सन्तानले पनि गन्दैनन्’, परशुराम भन्छन्, ‘विदेशमा सुकिला मुकिलालाई गन्दैनन्, हाम्रो देशमा काम गर्नेलाई गन्दैनन् । उल्टो छ चलन । विदेशमा काम नगरी भत्ता खानेले बिहे गर्ने केटी पनि पाउन मुस्किल हुन्छ, सुकिलामुकिलाई विदेशमा वास्तै गर्दैनन् । हाम्रो देशमा काम गर्नेलाई ।’ किसानलाई पर्ने समस्याका बारेमा सरकार संवेदनशील नहुने गरेको पनि उनको गुनासो छ । त्यस्तै विदेश गएर आएकाले ब्यबसाय गर्ने तर पढेकाले व्यवसाय नगर्ने गरेकोमा उनी दुख ब्यक्त गर्छन् । ‘बास्तवमा हामीले जस्तो व्यवसाय कृषि तथा पशुपालन बिषय पढेकाले गरेमा राम्रो हुन्थ्यो, तर पढ्नेहरु विदेश गएर रेष्टुरेण्टमा वेटर बन्छन् । हामी विदेश गएर आएकाहरुले नै धेरैजसो व्यवसाय गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्