| सोमवार, कार्तिक २३, २०८३

मनकामना बहिरा मावि १५ दिनपछि सञ्चालनमा

गोरखा : गोरखा नगरपालिका १० को मनकामना बहिरा आवासीय मावि मंगलबारदेखि सञ्चालन भएको छ । मृतक कर्मचारी श्यामहरि घिमिरेका आफन्त र विद्यालय प्रशासन बीच समझदारीपछि बन्द भएको १५ औं दिनमा विद्यालय खुलेको हो ।

मृतक घिमिरेकी श्रीमतीलाई विद्यालयमा रोजगारी दिने, किरिया खर्च तथा राहतस्वरुप तीनलाख रुपैयाँ दिने समझदारीपछि विद्यालयमा लागेको ताला खुलाइएको प्रधानाध्यापक अनील अम्गाईले जानकारी दिए । विद्यतलयले आफ्नो कोषबाट दुईलाख रुपैयाँ दिइसकेको र बाँकी एकलाख जुटाउने क्रममा रहेको अम्गाईले बताए ।

विद्यालय बन्द हुँदा त्यहाँ आवासीय सेवासहित पढिरहेका ११९ जना बहिरा विद्यार्थी पठनपाठनबाट बञ्चित भएका थिए । साथै नगरपालिकाभित्रका विद्यालयहरुमा एकैसाथ सुरु भएको प्रथम त्रैमासिक परीक्षा दिनबाट पनि विद्यार्थी बञ्चित भएका थिए ।
विद्यालयको कार्यालय सहयोगीको रुपमा कार्यरत ५० बर्षीय घिमिरेको गत साउन २७ गते राती स्थानीय याकुब परियारले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । परियार अहिले प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्