
मनकामना बहिरा मावि नौ दिनदेखि बन्द, परीक्षा समेत रोकियो
विद्यालयका कर्मचारीको मृत्यू भएपछि मनकामना बहिरा मावि आठ दिनदेखि बन्द भएको छ ।
विद्यालयको छात्रबासको आया श्यामहरि घिमिरेको रहस्यमय मृत्यू भएपछि उनका आफन्तले लगाएको ताला आठदिनदेखि नखुलेको हो ।
विद्यालय बन्द हुँदा गत आइतबारदेखि हुने भनिएको पहिलो त्रैमासिक परीक्षा पनि हुन नसकेको विद्यालयका प्रधानाध्यापक अनील अम्गाईले जानकारी दिए ।
‘हाम्रा कर्मचारीको रहस्यमय मृत्यू भएको भोलिपल्टदेखि विद्यालय बन्द छ’, अम्गाईले भने, ‘गोरखा नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा गत आइतबारदेखि पहिलो त्रैमासिक परीक्षा भएको छ तर हाम्रोमा हुन सकेन ।’
विद्यालयमा गत हप्ता स्थानीयबासीले ताला लगाएका थिए । घिमिरेको हत्या भएको दाबी गर्दै घटनाको सत्यतथ्य छानबीन गर्न दबाब दिन उनीहरुले ताला लगाएको स्थानीय सुवास घिमिरेले बताए ।
लामो समयदेखि विद्यालय बन्द हुँदा त्यहाँ अध्ययनरत एकसय १९ जना विद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन् ।




