| शनिबार, भदौ ७, २०७६

स्वयम्भुबाट १ किलो सुन सहित २ जना पक्राउ

गोरखाका सुनचाँदी पसलबाट सुन धितो राखेर ऋण लिन नपाइने

 

अबदेखि सुन धितो राखेर सुनचाँदी पसलबाट ऋण लिन नपाइने भएको छ । सुन चाँदी व्यवसायी संघ गोरखाले सुन धितो राखेर ऋण नदिने निर्णय गरेको हो ।

ग्राहकको सुन धितो राखेर ब्यक्तिगत रुपमा दिइने कर्जा नदिन संघले जिल्लाका सुनचाँदी ब्यबसायीलाई आग्रह गरेको छ । संघको साउन २२ गते बसेको बैठकको निर्णय कार्यान्वयनका लागि शनिवार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा ब्यबसायीलाई जानकारी दिईएको हो ।

नेपाल राष्टू बैङ्कले दिएको निर्देशन अनुसार सुनचाँदीका गरगहना धितो राखेर ऋण दिन बन्द गर्ने निर्णय गरेको सुनचाँदी ब्यवसायी संघ गोरखाका निवर्तमान अध्यक्ष कृष्णबहादुर विश्वकर्माले जानकारी दिए । ‘प्रहरी कार्यालयबाट पनि गरगहना धितो बन्धक राखेर ऋण दिनु बैङ्किङ कसूर हो यस्तो नगर्नु भन्ने कुरा आयो’ उनले भने ‘हामीले छलफल गरेर अबदेखि गहना धितोमा ऋण नदिने निर्णय ग¥यौं ।’

सुनको मूल्य अस्थिर रहेकाले व्यक्तिगत कारोबारमा जोखिम उच्च भएको ब्यबसायीले बताएका छन् ।

व्यवसायीहरुले ग्राहकसँग लिएको सुन धितोमा राखेर बैंकबाट ऋण पनि लिने गरेका थिए । तर सुन धितोमा दिने ऋणमा हुने जोखिमलाई ध्यान दिँदै राष्टू बैंकले कडाइ गरेको छ । बैंकमा सुन धितो राखेर पैसा लिन सर्वसाधारणले झण्झट मानेर आफुहरुकहाँ सुन राखेर ऋण लिने गरेपनि अब त्यो क्रम बन्द गर्ने विकले बताए ।

‘बैंकमा सुन राखेर ऋण लिन गोरखामा सजिलो छैन त्यसैले सर्वसाधारण हाम्रो ब्यबहार चलाईदिनु भन्दै आउनुहुन्थ्यो’ उनले भने ‘बैंकले थोरै गहना राख्दैन । बजार मुल्य अनुसार धितो राखेर सुनको मुल्य पनि दिदैंन । वाणिज्य बैंकमा सुन राख्न पर्दा बिहान सातदेखि आठबजेभित्रै सुन सुम्पेर टोकन लिनुपर्छ, प्रक्रिया झन्झटिलो भएकाले पनि ग्राहकहरु सुन पसलमा आउनुहुन्थ्यो ।’ पहिले सुन धितो राखेर ऋण लिनेलाई पनि अब कारोबार मिलाउन आग्रह गर्ने उनले बताए ।

केही समयदेखि सुनको मुल्य प्रतितोला ७० हजार पुगेकाले बिक्री ठप्प रहेको ब्यबसायीले बताएका छन् ।

नवदुर्गा सुनचाँदी पसलका सञ्चालक समेत रहेका निवर्तमान अध्यक्ष विश्वकर्माले भने ‘अहिले त किन्ने त्यत्ति आउनुहुन्न, बेच्ने मात्रै आउनुहुन्छ’ उनले भने ‘हरेक पसलले दैनिक चार÷पाँच तोला पुरानो सुन किनेका छन् । यस्तै अबस्था रहे हाम्रो ब्यबसाय नै चौपट हुन्छ । राष्टूबैंकले ब्यबसायीलाई सुन बेच्ने मात्रै होईन् ब्यबसायीबाट सुन किन्ने ब्यबस्था पनि मिलाए हामीलाई सजिलो हुन्थ्यो ।’ कार्यक्रममा सुनको किनबेचमा सचेतना अपनाउन पनि संघले ब्यबसायीलाई आग्रह गरेको छ ।

संघका जिल्ला अध्यक्ष पर्वबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारी, संघका सदस्य राजेन्द्र विश्वकर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्