| आइतवार, मंसिर २९, २०७६

बजेट भएर पनि गोरखाका सात विद्यालय बनेनन्, ५१ करोडमा जम्मा छ करोड खर्च

 

अनुपमा खनाल

भारत सरकारको सहयोगमा गोरखामा बन्ने भनिएका सात वटा विद्यालय बजेट भएर पनि पुनर्निर्माण हुन नसकेको पाईएको छ । सम्झौता गरेका १० मध्य तीनवटाको काम मात्र अघि बढेको जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)ले जनाएको छ ।

भूकम्पले भत्काएका गोरखाका १० विद्यालयको पुननिर्माणका लागि भारत सरकारबाट गत आर्थिक बर्ष ५१ करोड रुपैया प्राप्त भएको थियो । राष्टिूय पुनर्निर्माण प्राधिकरणमार्फत प्राप्त सो रकममध्ये छ करोड रुपैयाँमात्र खर्च भएको इकाईका इन्जिनियर देवकोटाले बताए । ‘बजेट भएर पनि काम हुन सकेन’, उनले भने, ‘दुतावासले जिम्मा लिएको विद्यालय आफ्नै कन्सलटेन्टमार्फत बनाउने जानकारी आयो । तर कन्सलटेन्ट नियुक्तिमा ढिलाई ग¥यो । सर्भे, डिपिआर मै ढिलाई भएपछि काम हुन सकेन । यो रकम फ्रिज हुँदैन, अब काम गर्न पनि मिल्छ ।’

भारत सरकारले जिल्लामा दश विद्यालय पुनर्निर्माणको जिम्मेवारी लिएपनि सातवटा विद्यालयको निर्माण कार्य सुरु नभएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले जनाएको छ । इकाईले डिपिआर तयार गरेको तीन विद्यालय मात्रै पुनर्निर्माण भैरहेका इन्जिनियर देवकोटाले जानकारी दिए । ‘तीनवटा स्कुलको डिपिआर स्वीकृत गरेर निर्माणको काम सुरु भयो, अरु ७ विद्यालयको अहिले कन्सलटेन्टले सर्भे गर्दैछन्’, उनले भने ‘सर्भे सकेर डिपिआर तयार पारी टेन्डर निकालेपछि ठेक्का लगाएर काम सुरु हुन्छ ।’

इकाईका अनुसार तारा मावि छेवेटार, महालक्ष्मी मावि लक्ष्मीवजार र रत्नलक्ष्मी मावि डुम्रीडाँडाको भवन निर्माण भैरहेको छ । गण्डकी मावि थुमी, मञ्जुश्री मावि काशिगाउँ, कृष्णज्योति मावि गाँखु, सूर्योदय मावि घ्याल्चोक र अमरज्योती जनता माविको सर्भे सकिएको इकाईले जनाएको छ । जागेश्वर मावि बोर्लाङ र प्रभातकिरण मावि लापुको सर्भे बाँकी रहेको इन्जिनियर देवकोटाले जानकारी दिए ।
भूकम्प लगत्तै भएको दाता सम्मेलनका क्रममा गरेको सहयोगको प्रतिवद्धता अनुसार तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला विद्यालय भवन निर्माणमा भारत सरकारले सहयोग गर्ने सम्झौता भएको थियो । तर चार बर्ष बितिसक्दा पनि भवन निर्माण सुरु नहुँदा पठनपाठन प्रभावित भएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

पर्याप्त कक्षाकोठाको अभावमा कतिपयले पुरानो भवन र अस्थायी टहरामा नै कक्षा सञ्चालन गरिरहेका छन् । हिउँद र बर्षायाममा विद्यार्थी र शिक्षक दुबैलाई अप्ठ्यारो हुने उनीहरुको भनाई छ । भारतीय सरकारको सहयोगमा पुनर्निर्माण हुने प्रभात किरण माविलाई धार्चे गाउँपालिकाले आवासीय सुविधा सहितको नमुना विद्यालय बनाउने तयारी पनि गरेको छ । गुरुयोजना अनुसार २१ करोड रुपैयाँ लागत लाग्ने प्रधानाध्यापक जीव गुरुङले बताए । ‘भारतीय सरकारले सघाउँदा हाम्रो गुरुयोजनालाई आधार बनाएर काम गर्न पाए हुन्थ्यो’ उनले भने । अहिलेको भवन पर्याप्त नभएकाले छिटो निर्माण कार्य सुरु गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्