| आइतवार, कार्तिक २२, २०८३

मुग्लिनको आर्क ब्रिजबाट गाडी गुड्न थाले

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ र चितवन जोड्ने मुग्लिनको त्रिशुली नदी माथि निर्माण गरिएको ‘आर्कब्रिज’ सञ्चालनमा आएको छ । पुलको निर्माण कार्य सकिएसँगै गाडी आउजाउ गर्न थालेको पुल योजना मध्य क्षेत्र सेक्टर नम्बर दुई ललितपुरका योजना प्रमुख अंगलाल रोकायाले बताए । ‘पुलको वारिपारि कालोपत्रे गर्ने बाहेक अरु सबै निर्माण कार्य सकियो,’ उनले भने, ‘बनिसकेपछि मंगलबारबाट गाडी चल्न दिएका हौँ ।’ दुवैतर्फको सडकको सतह कटिङ् गरी टेवा पर्खाल लगाउने काम पनि सकिएको कार्यालयले जनाएको छ ।

‘वारिपारिका केही भागमा कालोपत्रेको काम बाँकी छ, बर्खाको समयमा पिचको काम गर्न मिलेन,’ उनले भने, ‘नयाँ ठेक्का खोलेर दसैं लगत्तै पिचको काम पनि सुरु हुन्छ।’ औपचारिक उद्घाटनको विषयमा छलफलबाट निर्णय लिने उनले बताए। ‘पुरानो पुल पनि जोखिममा छ,’ उनले भने, ‘पुल बनेर गाडी गुड्न मिल्ने भएपछि रोकेर राख्नु सान्दर्भिक पनि भएन।’ तत्कालका लागि दुवै पुलबाट गाडी सञ्चालन गर्न सकिने पनि उनले बताए। ‘गाडी चालकलले आफूखुसी नयाँ पुल, पुरानो पुल दुवै प्रयोग गर्न सक्नेछन्,’ रोकायाले भने।

आर्क प्रविधिको नयाँ पुल निर्माण गर्न भने चार वर्ष लागेको उनले बताए। ‘नेपाली प्राविधिक, नेपाली कन्सलटेन्सी बनाएको नौलो प्रविधिको पुल हो, यो प्रविधि हिमाली भेगमा अति उपयुत्त र टिकाउ हुन्छ,’ उनले भने, ‘यसमा कम्पन हुँदैन, पैसाको हिसावले पनि सस्तो छ।’ उक्त पुलको आयु ८० वर्षको रहने पनि उनले बताए। १२ करोडको लागतमा पुल निर्माण सकिएको हो। मुग्लिन पुल भएर दैनिक २० हजार साना ठूला सवारी आउजाउ गर्ने अनुमान गरिएको छ। १६० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुल दुई लेनको रहेको उनले बताए। ‘११ मिटर चौडाइ मध्ये साढे सात मिटरमा गाडी चल्न मिल्छ,’ उनले भने, ‘दायाँबायाँ दुई मिटर फुटपाथ बनाएका छौँ।’

नयाँ पुल सञ्चालनामा आएसँगै सवारी आउजाउ सहज भएको चालकहरु बताउँछन्। ‘नयाँपुलबाट सटकट पनि छ, पुरानो पुलमा गाडी चलाउँदा हल्लने समस्या थियो, अब त्यो समस्या रहने,’ उक्त रुटका सवारी चालक कुमार थापाले भने, ‘हिजोबाट नयाँ पुलबाट हिँड्न थालेका छौँ, वारिपारि पिचको काम भने भएको छैन।’

२०७१ सालमा ठेक्का सम्झौता गरी उक्त पुल निर्माणको जिम्मा एलाइट एड्भेन्चर जेभीले पाएको थियो। गत वैशाखबाटै सञ्चालनमा आउनुपर्ने भएपनि केही प्राविधिक कारणले ढिलाइ भएको ठेकेदार कम्पनीले बताउँदै आएको छ।

निकै पुरानो पुलको पाताहरु उप्कने तथा बिमहरु जिर्ण बन्दै गएसँगै जोखिम बढेपछि नयाँ पुल निर्माण भएको हो। पुरानो पुल पनि मर्मत गरेर सञ्चालन गरिने रोकायाले बताए। चाइनिज प्राविधिकले उक्त पुलको अवस्थाबारे अध्ययन गरिसकेको छ। ‘टोटल पाटहरु मर्मत गर्नुपर्नेछ, आउदोँ मंसिरबाट पुरानो पुल पनि जोखम रहित तबरले सञ्चालनमा ल्याउने गरि मर्मतको तयारीमा छौं,’ रोकायाले भने।

उक्त पुल मर्मत गर्न ‘स्टमेट’ बनाएर अघि बढ्ने कार्यालयको तयारी छ। ‘अहिले त नयाँ पुलबाटै हिँड्न रुचाउने भए,’ उनले भने,‘पोखराबाट आउने गाडीलाई एउटा पुल र काठमाडौबाट जाने गाडीलाई अर्को पुल बाट जाने व्यवस्था मिलाउँछौ, सवारी आउजाउमा सजिलोका लागि पनि पुरानो पुल मर्मत गर्नुपर्छ, लागत कति लाग्छ निकाल्ने तयारीमै जुटेका छौँ।’ मुग्लिन पुल भएर गण्डकी प्रदेशका मात्र १० जिल्लाका स्थानीयहरुले आउजाउ गर्दै आएका छन्।
copied from ekantipur.com

प्रतिक्रिया दिनुहोस्