| सोमवार, कार्तिक २३, २०८३

कब्जा जग्गा फिर्ता गराईदिन गोरखा क्याम्पसको आग्रह

जग्गा कारोबारीहरुले अतिक्रमण गरेको जग्गा फिर्ता गर्न गोरखा क्याम्पसले पहल थालेको छ । गोरखा नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायत निकायलाई पत्र लेख्दै क्याम्पसले जग्गा फिर्ता गराउनका लागि सहयोग गर्न आग्रह गरेको हो।

गोरखा नगरपालिका वडा नम्वर ५ हिलेपोखरीस्थित क्याम्पसको कित्ता नम्वर ७ शय ४ को केही जग्गा जग्गा कारोबारीहरुले मिचेका थिए । क्याम्पसको पत्रमा गोरखा नगरपालिका वडा नम्वर ६ बस्ने राजेन्द्रकुमार श्रेष्ठ लगायत ब्यक्तिले यही साउन ३ गते क्याम्पसको जग्गा अतिक्रमण गरि आफूले प्लटिङ गरेको जग्गामा जानेगरि मोटरबाटो बनाएको उल्लेख छ ।

‘निज राजेन्द्रकुमार श्रेष्ठ सहितका ब्यक्तिहरुले त्रिवि गोरखा क्याम्पस, गोरखाको कित्ता नं ७ शय ४ को जग्गाको पश्चिम उत्तर भागतर्फ रहेको साविक कित्ता नं ६५५ को जग्गा खरिद गरि प्लटिङ गरेका र निजहरुले उक्त प्लटिङमा जाने बाटो लान निकास बाटो कहीँकतैबाट नभएको अवस्था हुँदा हाम्रो क्याम्पसको जग्गा एकाएक थाहा जानकारी बेगर कब्जा अतिक्रमण गरेको अवस्था छ ।’ क्याम्पसले गोरखा नगरपालिकामा बुझाएको निवेदनमा उल्लेख छ ।

जग्गा कारोबारीहरुले प्लटिङ शुरु गरेको कित्ता नम्वर ६ शय ५५ को जग्गामा जाने मोटरबाटो कतैबाट नभएको अवस्थामा क्याम्पसको जग्गा अतिक्रमण गरिएको गोरखा क्याम्पसले जनाएको छ ।

प्लटिङका क्रममा जग्गा कारोबारीहरुले गोरखा क्याम्पस हुँदै छेवेटारसम्मको सडकको रिटेनिङ वाल पनि भत्काइदिएका छन् । सडकको भित्तातर्फ लगाइएको ४ मिटर चौडाई र ६ फिट उचाईको पर्खालनै भत्काए पछि वडा नम्वर ७ को कार्यालयले काम रोकिदिएको छ ।

गोरखा क्याम्पसका प्रमुख विकास कुमार श्रेष्ठले गोरखा नगरपालिका लगायत निकायलाई लेखेको पत्रमा उक्त जग्गाको स्थलगत निरिक्षण र नापजाँच गरि अतिक्रमित जग्गा यथास्थितिमा कायम गरि जग्गा मिच्नेलाई करावाही गर्न माग गरिएको छ । पत्रमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस जस्तो सार्वजनिक एवम् स्वायत्त संस्थाको जग्गा अतिक्रमण गरेकाले जग्गाको स्थलगत निरिक्षण, नापजाँच समेत गराई क्याम्पसको जग्गा अतिक्रमण गर्नेहरुलाई झिकाई आवश्यक कारवाही समेत गरि क्याम्पसको जग्गा यथाअवस्था स्थिति कायम रहने गरि कारवाही गरिपाउँ ।’

प्रतिक्रिया दिनुहोस्