
किसानको अनुदानमा राजनीति, अनुदान पाउनेमा नेकपा निकट १९, कांग्रेसका २ मात्र किसान
गोरखाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले विभेदपूर्ण ढंगले किसानलाई अनुदान वितरण गरेको आरोप लागेको छ । साना मोडल फर्मको अनुदानका लागि छनौटमा परेका २१ जना किसानमध्य १९ जना किसान नेकपा निकट रहेको पाइएको हो । दुई जना नेपाली काङ्ग्रेस निकट छन् ।
उनीहरुलाई कार्यालयले एकलाख रुपैयादेखि चार लाख रुपैयासम्म अनुदान दिएको छ ।
कतिपय किसानलाई गाउँ पार्टी कमिटिले पार्टीको सदस्यता लिन लगाएर मात्र अनुदानका लागि सिफारिस गरेको आरोप छ । ‘पहिला पार्टीको सदस्यता लिन लगाउँछन्, अनि मात्र पार्टीले अनुदानका लागि सिफारिस गर्छन्’, अजीरकोट गाउँपालिकाका एक स्थानीयले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, ‘हुन त उनी यसै पनि अनुदान पाउन लायक किसान हुन्, तर पार्टीको सदस्यता नलिए नाम काटिदिने, त्रास देखाएर सदस्यता लिन लगाए । पछि अनुदान दिए ।’
वडा कार्यालयबाट धेरैलाई सिफारिस दिए पनि छानी छानी नेकपा आवद्ध किसानले मात्र अनुदान पाएको अर्का एक वडा अध्यक्षले गुनासो गरे । ‘सिफारिस माग्न आउने सबै किसानलाई दिएर पठाएको थिएँं, तर पछि पो थाहा भयो, छानी छानी नेकपा निकटका किसानले मात्र अनुदान पाएछन्’, उनले भने, ‘कति लागतको फर्म हो, कति अनुदान हो, अनुदानको मापदण्ड के हो ? हामीसंग कुनै समन्वय, जानकारी, बोधार्थ केही पनि छैन । अहिले काम सम्पन्न भएको सिफारिस माग्न आइरहेका छन् । अनुदान दिने बेला आफूखुशी गर्ने, अहिले सम्पन्नताको सिफारिस माग्ने ?’
अनुदान वितरण अपारदर्शी भएको अनुदान पाउने किसान स्वयं गुनासो गर्छन् । बिना मापदण्ड कनिका छरेझै अनुदान बाँडेको माछापालक किसान भुवनसिँह बस्नेत बताउँछन् । ‘कसले कस्तो काम गरेको छ भन्ने कुनै मूल्यांकन नै छैन’, जिल्ला कृषि संघ(माछातर्फ)का अध्यक्षसमेत रहेका उनले भने, ‘मेरो फर्मलाई सुरुमा १० लाख दिने भनेर नाम लेखेका थिए । धेरै जनालाई दिनुप¥यो भन्ने बहाना बनाएर पछि नाम काटेर दुईलाख ५० हजार पाउनेमा राखेछन् ।’ किसानको दुख र बास्तविक अबस्था नबुझी कुर्चीमा बसेर किसानको अनुदान कटौती गरेको भन्दै उनले आक्रोश पोखे ।
कामको आधारमा भन्दा पहुँचको आधारमा अनुदान बाँडेको अर्का किसान अशोक शर्मा बताउँछन् । ‘अनुदान दिने तरिका नै गल्ती छ’, तीनलाख रुपैयाँ अनुदान पाएका ज्यादुल खोला एग्रो फरेष्टूीका सञ्चालक शर्माले भने, ‘कामको आधारमा , फिल्ड हेरेर भन्दा पहुँचको आधारमा अनुदान दिने गरिएको छ । यो तरिका खारेज हुनुपर्छ ।’ अनुदानका लागि किसान छनौट गर्ने बैठकमा चर्काचर्की भएको कार्यालयका एक कर्म चारीले जानकारी दिए । ‘फिल्डमा गएर आउने कर्मचारी र निर्णयक टिम बीच चर्काचर्की भएको थियो’, स्रोतले भन्यो, ‘हाकिम साबलाई कसको टेलिफोन, कसको दबाब आएर यस्तो निर्णय भएको हो ।’
विज्ञ केन्द्रका प्रमुख ब्रजकिशोर ठाकुरले भने को कुन पार्टीका हुन् भन्ने आफूलाई थाहा नभएको दाबी गरेका छन् । ‘हामीले दरखास्त आव्हान गरेका हुन्छौं, किसानहरु प्रस्ताबना लिएर आउनुहुन्छ’, उनले भने, ‘हामीले फिल्ड भिजिट गरेर आफ्नो मापदण्ड अनुसार किसान छनौट गर्छौं । को कुन पार्टीको हुन्छ भनेर निधारमा त लेखेको हुदैन नि ।’




