
गोरखा क्याम्पसको जग्गा कब्जा गरेर प्लटिङ
किरण लोहनी :
जग्गा दलालहरुले गोरखा क्याम्पसको जग्गा हडपेर घडेरी प्लटिङ गरेका छन् । गोरखा नगरपालिका वडा नम्वर ५ हिले पोखरीस्थित क्याम्पसको करिब एक रोपनी जग्गा दलालहरुले मिचेर घडेरीका लागि प्लटिङ गरेका क्याम्पस प्रमुख विकास कुमार श्रेष्ठले आरोप लगाए ।
क्याम्पसको जग्गाबाटै प्लटिङ गरिएको घडेरीसम्म सडक जोडिएको छ । प्लटिङका क्रममा पनि क्याम्पसको करिब ६ आना जग्गा मिचिएको क्याम्पस प्रशासनले जनाएको छ ।
‘हामीले हाम्रो जग्गामा तारबार लगाउने काम शुरु गरेका छौं । एक ठाऊँमा अलि चोसो परेको जग्गा थियो, उनीहरुले त्यही चोसोबाट सडक बनाएर लगेछन्’ क्याम्पस प्रमुख श्रेष्ठले भने, ‘विश्व विद्यालयको सम्पत्तिको रेखदेख गर्ने जिम्मा हाम्रो हो । हामी जुनसुकै हालतमा जग्गा फिर्ता गरेर छाड्छौं ।’ गोरखा क्याम्पसको नाममा हिलेपोखरी क्षेत्रमा ७० रोपनी भन्दा बढी जग्गा छ । जग्गा ब्यवसायी हरुले क्याम्पसको जग्गाको आडैमा प्लटिङ थालेकोप्रति क्याम्पस प्रशासनले असन्तुष्टि जनाएको छ । सो क्रममा प्लटिङ स्थलसम्म सडक जोड्नका लागि क्याम्पसको जग्गा मिचिएको छ ।
‘शुरुमा त जग्गा दिनुप¥यो भनेका थिए, हामीले मिल्दैन भन्यौं, पछि त हामीलाई जानकारी पनि नगराई सडक खनेछन्’ क्याम्पस प्रमुख श्रेष्ठ भन्छन्, ‘हामीले स्थानीय सरकारलाई यसबारे मौखिक जानकारी गराइसकेका छौं ।
अब विधिवत रुपमा थप प्रक्रिया अघि बढाउँछौं ।’ क्याम्पसले गोरखा नगरपालिकाको २० लाख रुपैया सहयोगमा जग्गामा तारबार गर्ने काम शुरु गरेको छ ।
प्लटिङका क्रममा गोरखा क्याम्पस हुँदै छेवेटारसम्मको सडकको रिटेनिङ वाल पनि भत्काइएको वडा नम्वर ७ का अध्यक्ष विष्णु श्रेष्ठले बताए । ‘सडकको भित्तामा लगाइएको ४ मिटर चौडाई र ६ फिट उचाईको पर्खालनै भत्काएर सडक बनाइएको रहेछ’ उनले भने, ‘मलाई पनि थाहा थिएन, गाऊँका मान्छेहरुले खबर गरेपछि हेर्न गएको, सडकमा क्षति पु¥याइएको छ ।’ गण्डकी प्रदेश सरकारले वडा कार्यालयमार्फत सडक स्तरोन्नती को काम गरेको हो ।
क्याम्पसको जग्गा मिचिएको र सडक पनि भत्काइए पछि काम रोक्न लगाइ एको श्रेष्ठले जानकारी दिए । ‘सोमवार आफैं गएर काम रोक्न लगाएको हँु’ उनले, ‘वडा कार्यालय को सम्पर्कमा आउनु भनेको छु,मंगलवारसम्म आउनुभएको छैन ।’
जग्गा प्लटिङ गर्ने समूहका एक सदस्य राजेन्द्रकुमार श्रेष्ठले सडकमा क्षति पुगेको स्विकारे । ‘सडकको पर्खाल भत्किएकै हो, त्यो हामी बनाइदिन्छौं’ उनले भने, ‘क्याम्पसको जग्गा मिचिएको बारे थाहा भएन, मिचिएको रहेछ भने फिर्ता भैहाल्छ ।’
तर स्थानीय बासिन्दाले भने आफूहरुले पटक पटक आग्रह गर्दा पनि ब्यबसायीहरुले सडकको पर्खाल भत्काएर र क्याम्पसको जग्गा मिचेर डोजर चलाएको दाबी गरेका छन् ।
‘यसरी जग्गा मिचेर काम नगर्नुहोस् भनेका थियौं’, स्थानीय नारायणबहादुर श्रेष्ठले भने, ‘एक दुई जनासँग त चर्काचर्की नै प¥यो । सकेको गरे हुन्छ भन्दै उनीहरुले आफ्नो सुरले काम अघि बढाए ।’




