
आज गुरुपुर्णिमा, खनाल सम्मानित
पुर्व शिक्षक दिनेश रमण खनाल सम्मानित भएका छन् । द्विजवन्धु संस्कृति समाज गोरखाले गुरु पूर्णिमाको अवसरमा गोरखा नगरपालिका ८ बराह निवासी खनाललाई सम्मान गरेको हो ।
गोरक्ष नाथ वैदिक गुरुकुलमा मंगलबार विहान आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले खनाललाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।
समाजको सल्लाहकार समेत रहेका खनाल लामो समय शिक्षण पेशामा आबद्ध रहेकाले गुरुपूर्णिमाको अवसरमा सम्मान गरेको संस्थाका अध्यक्ष शम्भु अर्यालले जानकारी दिए ।
२०२५ सालदेखि शिक्षण पेशामा आबद्ध खनालले महालक्ष्मी मावि लक्ष्मीबजार, सुर्योदय प्र्रावि घ्याल्चोक, निबेल प्रावि, गोरखकाली प्रावि ठिगुरेस्वाँरा, सरस्वती मावि फिनाम र सरस्वती मावि आहालेमा अध्यापन गराएका थिए ।
अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लामिछाने, पुरुषोत्तमम अर्याल, नारायणभक्त अर्याल, पवन रमण खनाल, बोधप्रसाद अधिकारी लगायतले गुरुपूर्णिमाको महत्वबारे चर्चा गरेका थिए ।
कार्यक्रममा वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झना पनि गरिएको थियो । संस्थाले गुरुपूर्णिमाको अबसरमा हरेक बर्ष गुरुलाई सम्मान गर्दै आएको छ ।




