
विपन्न घरधुरीलाई निशुल्क मिटर बक्स वितरण सुरु
नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले अति विपन्न घरधुरीलाई निशुल्क मिटर बक्स वितरण गर्न सुरु गरेको छ ।
प्राधिकरणको केन्द्रीय कार्यक्रम अनुसार स्थानीय तह तथा वडा कार्यालयसँगको समन्वयमा अति विपन्न घरधुरीलाई निशुल्क मिटर बक्स वितरण सुरु गरेको गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।
उनीहरुले नयाँ मिटर जडान गर्दा लाग्ने करीब तीन हजार रुपैयाँ बराबरको सेवा निशुल्क पाउनेछन् । विपन्न घरधुरीले प्राधिकरणको मापदण्ड अनुसारको ५ देखि ३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीपी बक्स निशुल्क पाउने ब्यबस्था छ ।
हालसम्म दुई सय ८१ घरमा निशुल्क मिटर बक्स जडान गरिसकेको केन्द्रका प्रमुख न्यौपानेले बताए । प्राधिकरणका अनुसार जिल्लामा अहिले करीब पाँच सय विपन्न परिवारले निशुल्क मिटर बक्स जडानका लागि निवेदन पेश गरेका छन् । निशुल्क मिटर बक्सका लागि वडा कार्यालयले विपन्न पुष्टि गरेको सिफारिस, नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, दुई प्रति फोटो सहित प्राधिकरणमा निवेदन पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
विपन्न वर्गका घरधुरीको नजिक विद्युत लाइन विस्तारका लागि थप अनुदानको ब्यबस्था रहेको केन्द्रका प्रमुख न्यौपानेले जानकारी दिए । ‘घर नजिकै लाईन छैन भने दुईवटा पोल र तारका लागि थप ५५ हजार रुपैयाँ बराबरको अनुदान पनि छ’ उनले भने ‘मिटरबक्स त यसै पनि निशुल्क भैहाल्यो ।’
यो कार्यक्रमले आर्थिक अभावका कारण घरमा बिजुली जोड्न नसकेका विपन्न परिवारलाई फाइदा पुगेको उनले बताए ।
विपन्न घरले छिमेकीको घरबाट वा बिजुली हुकिङ गरेर बत्ति बाल्नुपर्ने बाध्यता अब हटेको उनको भनाई छ । गोरखा वितरण केन्द्रले विपन्न ब्यक्ति सँगै सांस्कृतिक महत्वका सम्पदामा पनि निशुल्क मिटर बक्स जडान गरिदिने भएको छ । ‘सांस्कृतिक महत्वका मठ,मन्दिर, गुम्बा, मस्जिदमा पनि निशुल्क मिटर बक्स दिइन्छ’ केन्द्र प्रमुख न्यौपानेले भने ‘अहिलेसम्म जौवारी र छेबेटारबाट मात्र सांस्कृतिक सम्पदाको लागि मिटर बक्स माग भएको छ । अन्य ठाउँबाट पनि निवेदन आएमा हामी निशुल्क मिटर बक्स जडान गरिदिन्छौ ।’
विपन्न वर्गलाई निशुल्क मिटर बक्स जडान कार्यक्रमका लागि मन्त्रालयबाट एक करोड रुपैयाँ प्राप्त भएको प्राधिकरणको गोरखा वितरण केन्द्रले जनाएको छ ।




