
गोरखा – घ्याम्पेशाल सडक कालोपत्रेको एकखण्ड सम्पन्न एकखण्ड अलपत्र
गोरखा घ्याम्पेसाल सडक कालोपत्रे गर्ने काम फेरि अलपत्र भएको छ । दोस्रो खण्ड अन्तर्गत घ्याम्पेशालदेखि फिनामसम्मको १०.२ किलोमिटर सडक कालोपत्रे गर्ने काम अलपत्र भएको भूकम्पीय आपतकालीन सहायता परियोजना धादिङ गोरखा सडक निर्माण आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाका आवासीय इञ्जिनियर अशोक देवकोटाका अनुसार नेपाल आदर्श जेभी निर्माण कम्पनीले जिम्मा लिएको सो सडकखण्ड आउँदो असार सातगतेभित्र कालोपत्रे गरिसक्नुपर्ने छ । तर अहिलेसम्म ४.२ किलोमिटर मात्र कालोपत्रे सम्पन्न भएको छ । ‘आउँदो असार सातगते म्याद सकिदैछ तर छ किलोमिटर कालोपत्रे गर्न बाँकी छ’, इञ्जिनियर देवकोटाले भने, ‘म्यादभित्र सकिने सम्भावना नदेखेपछि हामीले ४४ दिन म्याद थपका लागि एशियाली विकास वैंकमा पत्राचार गरेका छौं । म्याद थपिएला कि नथपिएला थाहा छैन ।’ म्याद थपका लागि गरिएको अनुरोध एडिबीले स्वीकृत नगरे भूकम्पीय आपतकालीन सहायता परियोजनाअन्तर्गत सो सडकका लागि प्राप्त ऋण सहयोग फिर्ता हुने छ ।

दुईवटा प्याकेजमा गरिएको सो सडक कालोपत्रेको काममध्य पहिलो खण्डको काम भने सम्पन्न भएको छ । बज्रगुरु सिनर्जी जेभी निर्माण कम्पनीले जिम्मा लिएको फिनाम देखि ताप्लेको कटुसघारीसम्मको ५.२ किलोमिटर सडक भने कालोपत्रे सम्पन्न भएको छ ।
स्तरोन्नतीको काम पूरा हुँदा घ्याम्पेसालबाट कोखेआहालेसम्मको सडक ७ मिटर चौडाईको बन्ने र त्यसमध्ये पाँचमिटर सडक कालोपत्रे हुनेछ ।




