| आइतवार, कार्तिक २२, २०८३

जडिबुटीबाट बारपाक सुलिकोट गाउँपालिकाको संवृद्धि सम्भव : विज्ञ

किरण लोहनी :

वारपाक सुलिकोट गाऊँपालिकाले जडिबुटी निकासी बाटै प्रशस्तै आन्तरिक आम्दानी गर्न सक्ने विज्ञहरुले बताएका छन् । सो गाउँपालिकाको वडा नम्वर २ वारपाकको नारदपोखरी क्षेत्रमा रहेको बहुमुल्य जडिबुटीको सदुपयोग गर्न उनीहरुको सुझाव छ ।
सो गाउँपालिकाको जैविक विविधताबारे अध्ययन गरेको विज्ञको टोलीले जडिबुटी खेती प्रवद्र्धन र निकासीमा ध्यान दिन गाउँपालिकालाई सुझाव दिएको छ । सुलिकोट धार्चे हुँदै मनासलु हिमालसम्मको जैविक विविधता कार्यक्रम अन्तर्गत ३० जनाको टोलीले विभिन्न क्षेत्रको अवलोकन भ्रमण गरेको थियो ।


सो क्रममा रुविनाला, नारदपोखरी लगायतको क्षेत्रमा वन लसुन, पाँचऔंले, यार्सागुम्बा लगायत झण्डै एकसय प्रजातिका जडिबुटी फेला परेको यात्रामा सहभागी मिलन ढकालले बताए । स्थानीयले फाट्टफुट्ट संकलन गर्नुबाहेक जडिबुटीको ब्यवसायिक संकलन र निकासी हुन नसकेको उनको भनाई छ ।

धार्चे, रुपिनाला लगायतको क्षेत्रमा जडिबुटीको ब्यवसायिक खेती पनि गर्न सकिने अध्ययन टोलीमा सहभागी वनस्पति विभागका अधिकृत हेम पौडेलले बताए । अध्ययन टोलीले गएको जेठ २५ गतेदेखि ५ दिनसम्म स्वाँरा, धार्चे, रुपिनाला, नारदपोखरी हुँदै बौद्ध हिमालको काखसम्मको अवलोकन गरेको हो । सो क्रममा अनेकौं प्रजातिका वन्यजन्तु, साना ठूला तालतलैया लगायतको विवरण संकलन गरिएको टोलीमा सहभागी ढकालले जानकारी दिए । टोलीले सो क्षेत्रको जैविक विविधता संरक्षण र त्यसको उपयोगका विषयमा गाऊँपालीकालाई सुझाव सहितको प्रतिवेदन बुझाउने छ ।


वारपाक सुलिकोट गाउँपालिकाको आर्थिक सहयोग र गाउँपालिका स्थित सामुदायिक वन उपभोक्ता महासंघको समन्वयमा अवलोकन भ्रमण भएको हो । भ्रमणमा स्थानीय वन उपभोक्ता समितिका पदाधिकारी, जनप्रतिनिधि, वन र वातावरण सम्बन्धी जानकार, धार्चे मनासलु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नरबहादुर गुरुङ, वारपाक सुलिकोट वडा नम्वर २ का अध्यक्ष लालबहादुर गुरुङ, वनस्पति विभागका अधिकृत हेम पौडेल लगायत ३० जनाको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्