
मुख्यमन्त्री गुरुङद्वारा बारपाकको विद्यालय भवन उद्घाटन
अनुपमा खनाल :
२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाकको हिमालय माध्यामिक विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । सम्झौता पत्रमा निर्धारित भन्दा सातमहिनापछि निर्माण सम्पन्न भएको सो भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।
भवन जापानी सहयोग नियोग(जाइका) को ऋण सहयोगमा निर्माण भएको हो । जाइकाबाट सहुलियत पूर्ण ऋण सहयोगस्वरुप प्राप्त ११ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण भएको हो । २०७५ सालको मंसीर महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २०७३ साल मंसीरमा विद्यालय भवन निर्माण आरम्भ गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि छ महिना थप गरिएको थियो । थपिएको समयमा भने भवन निर्माण सम्पन्न भएको हो ।

भवनमा कक्षा कोठा सहित प्रयोगशाला, पुस्तकालय, शौचालय, प्रशासनिक कक्ष लगायतका १९ कोठा छन् ।
विद्यालय भवन भूकम्पले भत्किएपछि टहरामा पढ्दै आएका बालबालिका अब सुविधासम्पन्न भवनमा पढ्न पाउने भन्दै खुशी भएका सहायक प्रधानाध्यापक खेमबहादुर घलेले जानकारी दिए । अझै विद्यालयका लागि सातकोठे थप भवन आबश्यक रहेको सहायक प्रधानाध्यापक घलेले बताए । थप भवन सहित पुस्तकालयमा फर्निचर तथा पुस्तकको ब्यबस्था गरिदिन माग गर्दै मुख्यमन्त्री गुरुङ र पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख ज्ञावलीलाई ज्ञापन पत्र बुझाइएको उनले बताए ।

ब्यबस्थापन समितिकी अध्यक्ष मनोज घलेको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री गुरुङ, गण्डकी प्रदेशका भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, सांसद प्रकाशचन्द्र दवाडी, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, राष्टिूय पुनर्निमाण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख रामप्रसाद आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।




