
मुआव्जा तत्काल निर्धारण र वितरण गर्न बूढीगण्डकी प्रभावितको माग
बूढिगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्र आरुघाट, खहरे लगायतका स्थानीय बासिन्दाले आयोजना क्षेत्रको मुआब्जा तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिएका छन ।
संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा आयोजना सरोकार समितिका संयोजक हरिराम ढकालले अब पनि मुआब्जा वितरण नगरिए सरकारविरुद्ध कडा आन्दोलनमा लाग्ने चेतावनी दिए ।

समितिले आयोजनाको क्षमता १२ सय मेघावाटबाट घटाउने चर्चा भइरहेको भन्दै उनले त्यसो गरे आयोजना बन्न नै नदिने बताए । समितिले बजेट पर्याप्त हुँदाहुँदै पनि सरकारले जग्गाको मुआब्जा वितरणको कामलाई अघि नबढाएर स्थानीय बासिन्दालाई मारमा पारेको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आयोजनाको काम स्वदेशी लगानीमा बनाउन नचाहेको भन्दै सरकारको चर्को आलोचना गरे । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष भित्र सम्पन्न हुने गरी आयोजनाको जग्गाको मुआब्जा वितरणको काम सम्पन्न गर्ने प्रतिवद्धता गरे ।
स्थानीय तहमा राजनीतिक समझदारी नभएकै कारण आयोजनाको जग्गाको मुआब्जा वितरणको काममा ढिलाई हुन गएको उनको भनाई छ ।




