
गोरखामा व्यवसायिक माछाको भुरा उत्पादन सुरु
अनुपमा खनाल
माछाको भुरा किन्न गोरखाका किसान जिल्ला बाहिर जानु नपर्ने भएको छ ।
लाफा नमुना कृषक समूहले माछाको भुरा उत्पादन सुरु गरेकोले व्यवसायिक रुपमा माछापालन गर्नेहरु भुरा किन्नकै लागि चितवन, पर्सा, बिरगन्ज, पोखरा लगायतका शहर जानुपर्ने बाध्यता हटेको हो । गोरखामा पहिलो पटक माछाको भुरा उत्पादन सुरु भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख दुर्गा पण्डितले जानकारी दिए ।
शहीद लखन गाउँपालिका ३ मनकामनाको कल्लेरी स्थित लाफा नमुना कृषक समूहले रघु, नौनी र ग्रास जातका माछाको भुरा उत्पादन सुरु गरेको हो । गत शुक्रबारबाट माछाको भुरा व्यवसायिक रुपमा बिक्री सुरु भएको समूहका अध्यक्ष झक्कलबहादुर थापाले बताए । ‘करिब २० लाख भुरा बिक्रीका लागि तयार भएका छन्’, उनले भने, ‘अहिले फार्ममा भुरा लिन आउनेको संख्या दिनदिनै बढेको छ । करिब डेढलाख भुरा बेचिसक्यौँ ।’ हाल रघु र नौनी जातका भुरा ३० पैसा प्रतिगोटा र ग्रासको प्रतिगोटा १ देखि डेढ रुपैयाँमा बिक्री गरेको समूहले जनाएको छ ।
२० रोपनी क्षेत्रफलमा माछापालन गरेको समूहले भुरा उत्पादनका लागि १३ रोपनीमा नर्सरी पोखरी बनाएको छ । त्यहाँ उत्पादन भएका भुरा निकालेर ट्यांकीमा राख्ने गरिन्छ ।

वीरगन्जबाट ल्याएको अण्डाबाट भुरा उत्पादन गरेको अध्यक्ष थापाले बताए । ‘यहाँ माउमाछा छैन’, उनले भने, ‘हामीले बच्चा निस्किन लागेको अण्डा वीरगन्जबाट विशेष तापक्रम मिलाएर अक्सिजन सिलिण्डर सहित ल्यायौं । तापक्रम मिलाएर पोखरीमा छाड्यौँ । यहाँ ल्याएको १४ दिनमा भुरा तयार भयो । तर साह्रै सानो हुनाले हामीले २०÷२२ दिन पालेर मात्रै बिक्रि सुरु ग¥यौ ।’ अब कमन कार्प, सिल्भर र बिगहेड जातको पनि भुरा उत्पादन गर्ने तयारी भैरहेको उनले बताए ।
भुरा उत्पादनका लागि माछाको अण्डा प्रतिलिटर पाँच हजार रुपैयाँमा खरिद गरेको उनको भनाइ छ । एक लिटरबाट एक लाखदेखि ३ लाखसम्म भुरा उत्पादन गर्न सकिने अध्यक्ष थापाले जानकारी दिए ।
भुरा उत्पादनका लागि पोखरी मर्मत सम्भार तथा भुरा खरिद लगायतमा करीब दुई लाख रुपैयाँ खर्च भएको अध्यक्ष थापाले बताए । ‘अहिले भुरा बेचेर दैनिक सरदर १० देखि १५ हजार रुपैयाँ आम्दानी भएको छ’, उनले भने, ‘धेरैले यहाँ भुरा पाउँछ भन्ने नै थाहा पाउनुभएको छैन । हामीले यो पटक करिब पाँचलाख आम्दानी गर्ने लक्ष्य राखेका छौं ।’ हाल गोरखाको छेबेटार, खाब्दी, यादी फर्म सहित तनहुँको आबुँखैरेनी लगायतको ठाउँका किसानले माछाको भुरा किनेर लगेका छन् ।
व्यवसायिक रुपमा माछापालन गर्दै आएको समूहले माछाको भुरा लिन तराईमा जाँदा दुख ब्यहोर्नुपरेपछि आफै उत्पादन सुरु गरेको हो । ‘हामीले धेरै दुख पायौं’ अध्यक्ष थापाले भने ‘दिन रात नभनी जानुपर्ने । तीनबर्षसम्म हामीले टाँडी, भण्डारा, पोखराबाट भुरा ल्यायौं । टाढाबाट ल्याउँदा भुरा जोगाउनै मुस्किल । तराईको तातोबाट भुरा ल्यायो, यहाँ चिसोमा वातावरण अनुकुल नहुने पनि समस्या । यहाँ नै हुर्किएको भुरा त मौसम वातावरण सबै मिल्छ । मर्ने सम्भावना भएन ।’ जिल्ला बाहिर र समूहमा भुराको मुल्य एउटै भएपनि समय तथा ढुवानी खर्च जोगिने अध्यक्ष थापाले बताए ।




