
गोरखा जिल्ला अस्पताल पुनर्निर्माण सुरु
गोरखा जिल्ला अस्पताल पुनर्निर्माण सुरु भएको छ । भुकम्पले क्षति पु¥याएको पुरानो भवन भत्काएर त्यहि ठाउँमा नयाँ भवन बनाउने क्रम सुुरु भएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । ‘आजबाट टिनको बार हालेर भवन बनाउने एरिया छुट्टाउने काम शुरु भएको छ’ उनले भने ‘अब निर्माण सामाग्री ल्याएर नयाँ भवन बनाउने प्रक्रियामा ठेकेदार कम्पनी जुटेको छ । ’
अस्पतालको भवन निर्माणको जिम्मा लुम्बीनी विल्डर्सले पाएको छ । अबको १४ महिनामा चारतले सुविधासम्पन्न भवन बन्ने अस्पताल ब्बयस्थापन समितिले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा जर्मनी संस्था केएफडब्लुको ४० करोड रुपैयाँको लागतमा भवन बनाईने भएको हो । अस्पतालको नयाँ भवन बनाउनका लागि स्टोर, इन्डोर र पुरानो पोष्र्टमार्टम भवन भत्काइएको छ ।
हाल प्रयोगशाला (ल्याब) रहेको भवन पनि भत्काउनुपर्ने अबस्था रहेको सुचना अधिकारी ढकालले जानकारी दिए ।‘तत्काललाई हामीलाई ल्याबको काम कहाँ गर्ने भन्ने अफ्ठेरो भयो, त्यसैले अहिल्यै नभत्काउ भनेका छौं’ उनले भने ‘तर २÷४ महिनामा ल्याबको भवन पनि भत्काउनुपर्ने भयो । ल्याबलाई कहाँ ब्यबस्थापन गर्ने भन्ने छलफल हुँदैछ ।’

अहिले अन्तरंग र प्रसुती सेवा लायन्स आँखा अस्पतालको भवनमा सञ्चालन भैरहेको अस्पताल ब्यबस्थापन समितिले जनाएको छ । गोरखा अस्पताल भवनको सटरलाई स्टोरका रुपमा प्रयोग गरिएको छ ।
यस्तै, इमर्जेन्सी कक्ष पनि स्तरोन्नती गरिने भएको छ ।
१५ शैयाको जिल्ला अस्पताल ६ बर्षअघि ५० शैयामा स्तरोन्नती भएको हो । तर पर्याप्त पुर्वाधारको अभावमा पुराना र जिर्ण भवनहरुबाट सेवा प्रवाह हुँदै आएका छन् ।
अब बन्ने भवन सरकारले निर्धारण गरेको ५० शैयाको अस्पतालको मापदण्ड अनुसार बन्ने मेडिकल सुपरिटेण्डेन डाक्टर तिवारीले बताए । ‘सरकारले तोकेको मापदण्डमा रहेर भवन बन्छ’ उनले भने ‘ नयाँ भवनमा अन्तरंग, बहिरंग, अपरेशन कक्ष सहितका संरचना रहनेछन् ।’ अस्पताल बनेपछि आवश्यक उपकरण पनि सोही संस्थांले उपलब्ध गराउने अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले बताए ।‘अस्पतालको सेवा वृद्धि गर्ने अभियानमा हामी जुटेका छौ’ उनले भने ‘भौतिक पुर्वाधार विस्तार सँगै थप सेवा सहज रुपमा प्राप्त गर्न सजिलो हुनेछ ।’




