
सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोगको ओइरो
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई सरकारले छात्रवृत्ति को व्यबस्था गरेको हुन्छ । उच्च शिक्षाका लागि पनि सामुदायिक विद्यालयमा पढेकालाई मात्र छात्रवृत्तिको व्यबस्था गरेको हुन्छ ।
व्यक्तिगत तथा नीजि क्षेत्रबाट पनि अहिले सामुदायिक विद्यालय मा पढ्ने विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री प्रदान गर्नेहरुको लर्को लाग्न थालेको छ ।
शुक्रबार रोटरी क्लब अफ नर्थले शहीदस्मृति मावि बुंकोटका विद्यार्थीलाई झोला वितरण गरेको छ । विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत चार सय ५० जना विद्यार्थीलाई झोला वितरण गरेको हो । शहीदलखन गाउँपालिका वडा नं ७ बुङकोटको पोखरीडाँडा निवासी ब्यबसायी गौतमप्रसाद खनालको समन्वयमा झोला वितरण गरिएको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ नर्थका अध्यक्ष बलराम राई, उपाध्यक्ष गौतम खनाल, सदस्य दिपेशराज भण्डारी लगायतले विद्यार्थीलाई झोला हस्तान्तरण गरेका वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै पालुङटार नगरपालिकाको अन्नपूर्ण माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । बिज्ञापन ब्यबसायी अर्जुन पोखरेलले विपन्न एवं जेहेन्दार २४ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका हुन् । विद्यालयमा आयोजित एक कार्यक्रममा पोखरेलका बुवा यमप्रसाद पोखरेलले विद्यार्थीलाई पोशाक हस्तान्तरण गरेका विद्यालयले जनाएको छ ।
कक्षा ११ अध्ययन गर्ने क्रममा आफूले समयमा भर्ना एवं मासिक शुल्क तिर्न नसक्दा परीक्षामा सामेल हुन नपाएको स्मरण गर्दै अहिले आफ्नो आम्दानीको केहि प्रतिशत रकम विद्यार्थीमा लगानी गरेको ब्यबसायी पोख्रेलले बताए । विद्यालयका प्रधानाध्यापक दिपक सापकोटाले भुपु विद्यार्थी समेत रहेका पोख्रेलले गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरेकोमा खुसी ब्यक्त गरे ।
त्यस्तै साथी नेपाल कास्कीले दुर्गम भेगका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको साथमा झोला वितरण गरेको छ । संस्थाले केरौंजाको केरौंजा माविका तीनसय २६ जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहितको झोला वितरण गरेको शिक्षक सञ्जय ढकालले जानकारी दिए ।
सो संस्थाले केरौंजाकै गण्डकी आधारभूत विद्यालय रुन्चेत, इच्छा आधारभूत विद्यालय हुल्चुक, शिव आधारभूत विद्यालय केरौंजाबेशी र गणेशहिमाल आधारभूत विद्यालय दोभानका सबै विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको शिक्षक ढकालले बताए ।
त्यस्तै केहीदिनअघि साथी नेपाल नामक संस्थाले धार्चे गाउँपालिका ६ काशिगाउँको मञ्जुश्री मावि, चन्द्रदेवी आधारभूत विद्यालय र सूर्यदेवी आधारभूत विद्यालय यार्साका बालबालिकालाई पनि सो सामग्री हस्तान्तरण गरेको वडा अध्यक्ष धनकुमार घलेले बताए । त्यस्तै संस्थाले आरुघाट गाउँपालिकाल १ मान्बुको विष्णु प्राबि धोरतका बालबालिकालाई पनि शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको हो । संस्थाकी निर्देशक लक्ष्मी कुँबरले गाउँ गाउँ पुगेर विद्यार्थीहरुलाई सो सामग्री हस्तान्तरण गरेकी थिइन् ।
सहिद लखन गाउँपालिका ८ बुंकोटका जीवन अम्गाईले सदरमुकामको बालमन्दिर माध्यमिक विद्यालयका ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक र झोला वितरण गरेका छन् । सो विद्यालय र सदरमुकामकै महेन्द्रज्योति माविका विद्यार्थीलाई कल ओभर रिज नामक संस्थाले दिवा खाजाको ब्यबस्था गरेको छ ।

गोरखाली समाज यूके टूष्टले गोरखा जिल्लाको दुई वटा नगरपालिका र नौ वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा पढ्ने एकसय ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री, झोला तथा विद्यालय पोशाक प्रदान गरेको छ । टूष्टका जयप्रकास गुरुङले प्रत्येक विद्यार्थीलाई दुईसेट विद्यालय पोशाक, तीन दर्जन कापी, एक दर्जन कलम र झोला हस्तान्तरण गरेका हुन् । त्यस्तै गोरखा समाज नेपालले जिल्लाका चार वटा सामुदायिक विद्यालयलाई १२ थान कम्प्यूटर प्रदान गरेको छ ।
नेपाल बाल उद्दार संस्था र व्यवसायी इश्वरनिधि पाण्डेले पालुङ्टार नगरपालिकाल ९ को धर्मोदय माविका २४ जना विद्यार्थीलाई पोशाक र ३५ जना विद्यार्थीलाई झोला वितरण गरेको शिक्षक रुपेश तामाङले जानकारी दिए । सदरमुकामको शक्ति माविमा पूर्व सिडियो दीपक जोशीको स्मृतिमा कक्षा पाँचसम्म का विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको शिक्षक राजुकुमार श्रेष्ठले जानकारी दिए ।
सरकारी स्तरबाट पनि सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । सिरानचोक गाउँपालिका वडा नं. ६ कार्यालय र सम्बन्धित विद्यालयको संयुक्त पहलमा सबै विद्यार्थीलाई पोशाक र दिवा खाजाको ब्यबस्था गरिएको वडा अध्यक्ष नारायण दानीले जानकारी दिए ।
लायन्स क्लव, लियो क्लव, रोटरी क्लव जस्ता सामाजिक संघसंस्थाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउनका लागि बिभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेका हुन्छन् ।
विद्यालय भवन तथा अन्य पूर्वाधार निर्माणमा पनि बिभिन्न एनजीओ, आइएनजीओहरुले सहयोग गर्ने गरेका छन् ।




