
बारपाक सुलिकोट गाउँपालिकाको शिक्षा शाखा कर्मचारीविहिन
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको शिक्षा शाखा कर्मचारीविहिन भएको छ ।
शिक्षा अधिकृत यामबहादुर नेपाली समायोजनका क्रममा भीमसेन थापा गाउँपालिकामा गएपछि डेढ महिनादेखि शिक्षा शाखा खालि भएको प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङले जानकारी दिए ।
शाखामा शिक्षा अधिकृत र प्राविधिक सहायक गरी दुई जनाको दरबन्दी छ । तर अहिलेसम्म प्राविधिक सहायकको पदपूर्ति हुन सकेको छैन ।
शिक्षा शाखामा कर्मचारी नहुँदा चालु आर्थिक बर्षमा शिक्षामा रहेको १३ करोड रुपैयाँ बजेट कार्यान्वयनमा समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए ।
‘सशर्त अनुदान तर्फको ५६ शीर्षकका कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनौं’, उनले भने, ‘गाउँपालिकाले वित्तीय समानिकरणबाट शिक्षामा विनियोजन गरेको ७० लाख रुपैयाँ पनि खर्च हुन सकेको छैन ।’

शिक्षाको बजेटबाट तलब भत्ता, पाठ्यपुस्तक, मसलन्द लगायतका प्रशासनिक खर्च भएपनि कार्यक्रमहरु कार्यान्वयन गर्न नसकेको उनले बताए ।
‘विभिन्न अनुदानका लागि विद्यालय छनौट गर्न पनि सकेका छैनौं’, उनले भने, ‘यसकारण गाउँपालिका भित्रका विद्यालयको विकासमा पनि असर पुगेको छ ।’
माविमा विज्ञान प्रयोगशाला अनुदान, सुचना प्रविधिको प्रयोगका लागि अनुदान, पुस्तकालय स्थापना तथा ब्यबस्थापन, उत्कृष्ट सिकाई उपलब्धी अनुदान, पानी तथा स्वास्थ्य र सरसफाई सुविधा सहितको सौचलय अनुदान लगायतका कार्यक्रम कार्यान्वयन हुन नसकेको हो । शिक्षा शाखामा कर्मचारी नहुँदा विद्यालयमा शिक्षक नियुक्ति गर्न पनि समस्या परेको अधिकृत गुरुङले जानकारी दिए । ‘गाउँपालिका भर १८ जना शिक्षक गोल्डेन ह्याण्डसेक लिएर शिक्षण सेवाबाट जानुभयो’, उनले भने, ‘नयाँ शिक्षक नियुक्ति गर्न पनि समस्या भयो । परीक्षा सञ्चालन समिति बनाएर शिक्षक नियुक्तिको लागि सिफारिस गर्ने जिम्मेवारी दियौं । आजमात्रै १३ जना नियुक्ति हुनुभएको छ ।’
कर्मचारी नहुँदा डेढ महिना ढिलो शिक्षक नियुक्ति भएका हुन् । रोकिएका काम गर्न शिक्षा शाखाको जिम्मेवारी तत्कालका लागि गाउँपालिका भित्रकै विद्यालयका स्थायी मावि तहको शिक्षकलाई दिने तयारी भैरहेको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए




