| आइतवार, कार्तिक २२, २०८३

छ बर्षदेखि अलपत्र सोतीखोला मोटरेवल पुल निर्माण सुरु

अनुपमा खनाल :

छ बर्षदेखि अलपत्र अबस्थामा रहेको सोतीखोला मोटरेबल पूल निर्माण कार्यसुरु भएको छ । गोरखाको आरुघाट गाउँपालिकाको सोतीखोलामा अलपत्र पूल निर्माण सुरु भएको एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयले जनाएको छ ।

भुकम्पपछिको पहिरोले संरचनामा क्षति पुगेको भन्दै ठेकेदार कम्पनीले पुल निर्माण अलपत्र छाडेको थियो । तर, लगातारको दबाब र चेतावनीले ठेकेदार कम्पनी काममा फर्किएको कार्यालयका इन्जिनियर राजेश यादवले बताए । ‘हामीले कालोसुचीमा राख्ने चेतावनी दियौं’ उनले भने, ‘लगातारको दबाब र चेतावनीले अहिले काम सुरु भएको छ ।’ २०६८ असार २९ गते ठेकेदार कम्पनी रायमाझी इशान जेभीले सोती पुल २०७० असार २८ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।


म्याद नाघेको पाँच बर्ष बितिसक्दा अहिलेसम्म पुल निर्माणको काम ४५ प्रतिशत मात्रै सकिएको इन्जिनियर यादवले जानकारी दिए । ‘पूलको जगको काम पहिले नै सकिएको हो’ उनले भने ‘अहिले पिल्लर राख्ने काम भैरहेको छ । यहि असारसम्म पूल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई समय दिएका छौं ।’

दुई करोड २४ लाख ९० हजार ९ सय ४२ रुपैयाको लागतमा पुल निर्माण गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले हालसम्म ९९ लाख रुपैया भुक्तानी लगिसकेको छ । २५ मिटर लामो दुई लेनको मोटरेवल पूल बनाइने छ । उत्तरी गोरखालाई सडकसँग जोडन यो पुल महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्