
गोरखाका बिभिन्न पाँच ठाउँमा १५ र २५ शैयाका अस्पताल थपिदै
अनुपमा खनाल
गोरखाको एक स्वास्थ्यचौकी र तीनवटा प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने भएको छ ।
आरुघाटको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र, गण्डकी गाउँ पालिकाको मकैंसिङ प्राथमिक स्वास्थ्य केन्द्र, सिरानचोक गाउँपालिकाको जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी स्वास्थ्य चौकीलाई संघीय सरकारले १५ शैयाको अस्पतालमा स्तरवृद्धि गर्न लागेको हो ।

त्यस्तै सौरपानीकै हुँडीखोलाफाँटमा प्रदेश सरकारले २५ शैयाको अस्पताल बनाउने तयारी गरेको छ ।
करीब आधा घन्टाको दुरीमा दुई वटा अस्पताल बनाउनुभन्दा सुविधासम्पन्न एउटा अस्पताल बनाउन गाउँपालिकाले स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङले बताए ।
एउटा अस्पताल निर्माण एवं स्तरोन्नतिको लागि साढे ३ करो डदेखि ७ करोड रुपैयाँ सम्म बजेट लाग्ने अनुमान गरिएको छ ।
१५ शैयाको प्राथमिक अस्पतालबाट आधारभूत स्वास्थ्य सेवातर्फ जनशक्ति, स्वास्थ्य उप करण तथा पूर्वाधारले भ्याएसम्म तोकिएका सबै किसिमका आधारभूत स्वास्थ्य सेवा प्रदान हुनेछन् । जसमा बहि रंग सेवा, इन्डोर सेवा, प्रयोगशाला, २४ सैं घण्टा आकस्मिक सेवा लगायत सेवा उपलब्ध हुनेछन् ।
निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले गोरखामा पनि स्वास्थ्यचौकी र केन्द्रको स्तरोन्नती गर्न लागेको स्वास्थ्य कार्यालयका प्रमुख दिपक सुवेदीले जानकारी दिए ।

आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैयाको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा उल्लेख छ । सोही कार्यक्रम अनुसार देशभरको स्थानीय तह मध्ये पहिलो चरणमा दुई सय ५१ स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण हुन लागेको हो । अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले सम्बन्धित स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्र र गाउँपालिकामा पत्र पठाएको छ ।




