
गोरखा अस्पतालमा मर्नेमध्य नसर्ने रोगका बिरामी ९० प्रतिशत
गोरखामा नसर्ने रोगको बिरामी बढदै गएका छन् । क्यान्सर, मुटु, मिर्गौला र दिर्घ स्वास्वप्रश्वासका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयले आयोजना गरेको स्वास्थ्य सञ्चार सचेतना कार्यक्रममा नसर्ने रोगको जोखिम र अबस्थाका बारेमा जानकारी दिईएको हो ।
अस्वस्थ्यकर जीवनशैली, सुर्ती र मदिराजन्य पदार्थको सेवन, अपर्याप्त शारीरिक क्रियाकलाप लगायतका कारण नसर्ने रोगका बिरामी बढ्दै गएका गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेन श्रीराम तिवारीले बताए । ‘गोरखा अस्पतालमा भर्ना भएकामध्ये ६० प्रतिशतमा दमको समस्या पाइन्छ’, उनले भने, ‘अस्पतालमा नै मृत्यु भएकामध्ये ९० प्रतिशतको नसर्ने रोगका कारण मृत्यु भएको छ । मस्तिष्कघात, उच्च रक्तचाप, सुगर लगायतका कारण बिरामीको मृत्यु भएको छ ।’ सरकारले नसर्ने खालका कडा रोग न्यूनीकरणका लागि गरिब विपन्न वर्गका बिरामीलाई एक लाख रुपैयाँसम्मको अनुदान दिँदै आएको छ ।

सो अनुदानका लागि सिफारीस लिन आउनेको आधारमा पनि जिल्लामा करीब ६० प्रतिशत नसर्ने रोगका विरामी पाईएको स्वास्थ्य कार्यालयका प्रमुख दिपक सुवेदीले जानकारी दिए । ‘सिफारिस लिनेको संख्या बर्षेनी बढ्दो छ’, उनले भने, ‘पहिले स्वास्थ्य कार्यालयबाट दिइने सिफारिस अहिले स्थानीय तहले दिँदै आएको छ । तथ्यांक पनि बढ्दो छ ।’जीवनशैलीमा ख्याल गरेपनि धेरै हदसम्म नसर्ने रोगबाट बच्न सकिने स्वास्थ्य कार्यालयका डाक्टर प्रणाम जयरुले बताए । ‘हामीले सामान्य ख्याल गरेपनि जोखिम कम गर्न सकिन्छ’ उनले भने, ‘नसर्ने रोगबाट बच्न मध्यपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, शारीरिक व्यायाम गर्ने, नुनचिनी कम खाने र फलफूल प्रशस्त खाने गर्नुपर्छ ।’ नसर्ने रोग देखा परेकाले चिकित्सकको परामर्श अनुसार नियमित औषधि सेवन गर्न उनले सुझाव दिए । विश्वमै चाँडै मृत्यु निम्त्याउने रोगमध्ये नसर्ने रोगलाई पहिलो मानिएकोले सतर्क रहन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज खडकाले आग्रह गरे । विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगकै कारण भएको छ ।

कार्यक्रममा सहभागीले स्वस्थ्य जीवनका लागि तनावरहित जीवन बाँच्ने, मध्यपान र धुमपान नगर्ने, नियमित ब्यायाम गर्ने, स्वस्थ्यकर पोषिलो खाना खाने, नियमित स्वास्थ्य जाँच गर्ने, प्रदुषण नियन्त्रणमा सजग रहने, टूाफिक नियम पालना गर्ने र परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहने प्रतिबद्धता गरेका छन् ।




