
शिक्षक नहुँदा विद्यालय बन्द
शिव उप्रेती देशभरका विद्यालयमा भर्ना अभियान सुरु भएको एक महिना पुग्न लागेको छ। तर, चुमनुब्री गाउँपालिकाका ६ वटा विद्यालय अहिलेसम्म खुलेका छैनन्। तिब्बतको सीमाक्षेत्रमा रहेका छुलेनिले, साम्दो, चुम्लिङ, सिप्चेत, गुम्बा हिमाली र प्रोक आधारभूत विद्यालय बन्द रहेका हुन्। शिक्षकविहीन भएपछि ती विद्यालय नयाँ शैक्षिक सत्र सुरु भएदेखि नखुलेको स्थानीयले बताएका छन्।
एक–एक जना मात्र शिक्षक रहेका ती विद्यालयमा शिक्षा सेवा आयोगबाट स्थायी हुनेको नतिजा सार्वजनिक भएपछि उनीहरू बाहिरिएका थिए। ‘पहिला काम गर्ने अस्थायी मास्टरको जागिर गयो। नयाँ शिक्षक आएका छैनन्’, निले गाउँका याङ्जेन लामाले भने, ‘त्यसैले यहाँको स्कुल अहिलेसम्म खुलेको छैन। स्कुल नै नखुलेपछि यहाँ विद्यार्थी भर्ना कसले गर्ने, किताब कसले ल्याउने ? ’
शिक्षक सेवा आयोगको नतिजा सार्वजनिक भएपछि चुमनुब्री गाउँपालिकाभरिका विद्यालयमा १४ जना शिक्षक एकैचोटि बाहिरिएका थिए। ‘स्थायी शिक्षक भएको विद्यालयमा ढोका खोल्ने शिक्षक छन् तर अस्थायी मात्र भएकामा त सबैको जागिर सकियो। अहिले ढोका खोल्ने मान्छे पनि छैन’, गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण अधिकारीले भने।
शैक्षिक सत्र सुरु भए पनि स्कुल नखुलेपछि गाउँका बालबालिका बाआमासंँग बारीको काममा र गोठालो गएको वडा नम्बर ४ का अध्यक्ष पेमा डुण्डुप लामाले बताए। ‘प्रोक आधारभूतमा चाहिँ लामा शिक्षा दिने एक जना गुरु छन्’, उनले भने, ‘एक घण्टा लामा शिक्षा दिन्छन्। सरकारी स्कुलचाहिँ बन्द छ।’
छुलेनिले कक्षा दुईसम्म सञ्चालित विद्यालय हो। चुम्लिङ कक्षा पाँचसम्म, सिप्चेत पनि कक्षा पाँचसम्म सञ्चालित छन्। त्यस्तै, साम्दो इसिडी, प्रोक कक्षा दुईसम्म र गुम्बा हिमाली कक्षा दुईसम्म सञ्चालित छन्। सो क्षेत्रका पेमाथाङ आधारभूत, लोक्पा, क्य्राक, क्वाक, मनास्लु इन्द्रेणी, नाम्रुङ र स्यो आधारभूत विद्यालय यसअघि नै सरकारले विधिवत् रूपमा बन्द गरिसकेको थियो।
बन्द रहेका विद्यालयमध्ये भूकम्पले भत्काएको छुलेनिले र प्रोकको भवन अहिलेसम्म नबनेको गाउँ शिक्षा शाखाले जनाएको छ। सिप्चेत र गुम्बा हिमाली भने लाखौं रुपैयाँ लगानीमा नयाँ भवन निर्माण भइसकेका छन्।
शिक्षक कसले नियुक्ति गर्ने भन्नेबारे अन्योल भएकाले नियुक्ति गर्न ढिला भएको गाउँ शिक्षा शाखाका अधिकृत नारायण अधिकारीले जानकारी दिए। ‘आयोगको रिजल्ट आउनेबित्तिकै त्यहाँ कार्यरत अस्थायी शिक्षकको जागिर गइहाल्यो’, अधिकारीले भने, ‘अब बैठक बसेर नियुक्तिका लागि अनुमति दिन्छौं। दुर्गमको ठाउँ, शिक्षक पाउन पनि मुस्किल छ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तालिममा रहेकाले बैठक बसेर अनुमति दिने प्रक्रियामा जान ढिलाइ भएको उनले बताए।




