| आइतवार, कार्तिक २२, २०८३

रिचेतखोला जलविद्युत आयोजनाको काम ५५ प्रतिशत सम्पन्न

 

अनुपमा खनाल :

काशीगाउँ र मान्वुको सिमानामा पर्ने रिचेत खोलामा निर्माणाधिन जलविद्युत आयोजनाको निर्माण कार्य ५५ प्रतिशत सकिएको छ ।

 

४.९८ मेगावाट क्षमताको रिचेत खोला साना जलविद्युत आयोजनाको हालसम्म करीब ५५ प्रतिशत काम सकिएको रिचेत जलविद्युत कम्पनी प्रालिले जनाएको छ । यार्सा गाउँ भन्दा तल रिचेत खोला किनारमा पावर हाउस रहने कम्पनीका परामर्शदाता नारायण खनालले जानकारी दिए । ‘पावर हाउस निर्माणको काम धमाधम चलिरहेको छ’ उनले भने ‘हाल सम्म पावर हाउस निर्माणको काम ५० प्रतिशत सकियो ।’ छोटेखोला भन्दा सय मिटर माथिको क्षेत्रमा आयोजनाको बाधँ निर्माण हुनेछ । हालसम्म बाँध निर्माणको काम ८० प्रतिशत सकिएको परामर्शदाता एवं लगानीकर्ता खनालले बताए । ‘पावर हाउस र बाँध बिचको दुरी करीब २ किलोमिटर छ’ उनले भने ‘पाईप विछ्याउने काम ६० प्रतिशत सकिएको छ ।’

६ महिना अघिबाट आयोजना निर्माण शुरु भएको हो ।

आगामी असोजसम्ममा काम सक्नेगरी आयोजना निर्माण भैरहेको रिचेत जलविद्युत कम्पनी प्रालिले जनाएको छ । उत्पादित विजुली राष्ट्रिय प्रसारण लाईनमा जोड्ने खनालले बताए । ‘यहाँको बिजुली प्राधिकरणलाई बेच्ने सम्झौता छ’ उनले भने ‘धादिङको सल्यानटारमा रहेको सवस्टेशनमा लगेर विजुली जोड्नेछौँ ।’ वार्षिक झण्डै १८ करोड रुपैयाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट बिजुली खरिद गर्ने सम्झौता भएको छ । करीब ९० करोड रुपैयाको लागतमा आयोजना निर्माण हुने कम्पनीका परामर्शदाता खनालले जानकारी दिए । ‘प्राईम बैंकको नेतृत्वमा ६० करोड रुपैयाँ अर्थात कुल लागतको ७० प्रतिशत ऋण सहयोग छ’ उनले भने ‘३० प्रतिशत लगानी समुदायको रहनेछ । जसमा १० प्रतिशत शेयर स्थानीयलाई दिन्छौ ।’ आयोजना निर्माण कार्य ७५ प्रतिशत सकिएपछि स्थानीय का लागि शेयर खुल्ला गर्ने कम्पनीले जनाएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना प्रभावित क्षेत्रका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सो रकम स्थानीय सरकारसँगको सहकार्य र समन्वयमा खर्च गरिने खनालले प्रस्ट पारे । आयोजनामा स्थानीयलाई रोजगारी पनि दिईने उनको भनाई छ ।

यसैबिच सरकारले सोही आयोजना का लागि काशिगाउँमा रहेको वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । बैशाख २ गतेको मन्त्री परिषद् बैठकले आयोजनालाई बन क्षेत्र उपभोग गर्न दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्