| आइतवार, कार्तिक २२, २०८३

लाप्राक एकीकृत बस्ती निर्माण अन्तिम चरणमा

अनुपमा खनाल
दरौंदी : भूकम्प र संगगंगैको पहिरोले बिस्थापित भएका लाप्राकका बासिन्दालाई पुनस्थापित गर्न गैरआवासीय नेपालीहरुको संगठन(एनआरएनए)ले गुप्सीपाखामा निर्माण गरेको एकीकृत नमूना बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एउटै साइज र एउटै रङका पाँचसय ७३ घरधुरी निर्माण सम्पन्न हुने चरणमा पुगेको एनआरएनएका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीले जानकारी दिए ।
‘भूकम्प गएको दिन बैशाख १२ गतेकै अवसर पारेर हस्तान्तरण गर्ने योजना थियो, तर निर्माण सम्पन्न हुन सकेन’, उनले भने, ‘काठ लगायतका सामग्री स्थानीय बासीले उपलब्ध गराउने सम्झौता थियो । तर समयमै निर्माण सामग्री जुट्न सकेन । अझै दुईमहिनासम्म लाग्न सक्ने देखियो ।’ एनआरएनएले पूर्वप्रतिवद्धता अनुसार घर निर्माण नगरेपछि लाप्राकका बासिन्दा जोखिमयुक्त स्थानमै भत्केको घर मर्मत गरेर बसेका छन् ।
हालसम्म चार सय ५० घरको छानो छाइसकेको एनआरएनएका साईट इन्चार्ज लक्ष्मण अर्यालले जान कारी दिए । ‘सबै घरमा टूष्ट हालिसकेका छौं’, उनले भने, ‘सबै घरको पहिलो तलाको काम पनि सकिएको छ । दोस्रो तलाको काम पनि सबै घरको ८५ प्रतिशत सकिएको छ ।’ छानो परिवर्तनलगायत केही आन्तरिक काम बाँकी रहेको उनले बताए ।
चार सय ७५ वटा घरमा रङ्गरोगन गर्ने काम पनि सकिएको उनले बताए । ‘तलामा काठ छाप्ने काम बाँकी छ’, उनले भने, ‘झ्यालढोका राख्ने काम पनि सुरु भएको छ ।’
स्थानीयबासीले समयमै आफ्नो दायित्वभित्रको काम नगरेकाले समयमा काम सम्पन्न गर्न चुनौती भएको सिईओ दवाडीको तर्क छ । ‘सम्झौता अनुसार स्थानीयबासीले प्रतिघर ४० बोरा गिटी, ८ टूयाक्टर ढुंगा र काठ ५३ क्युफिटका दरले उपलब्ध गराउनुपर्ने थियो’, दवाडीले भने, ‘तर निर्माण सामाग्री सबैले बुझाएका छैनन्, यसले पनि ढिलाई भएको हो ।’ मौसमी प्रतिकुलता तथा निर्माण सामाग्री ढुवानीमा असहजताका कारण तोकिएको समयमा घर निर्माण गर्न नसकेको उनले बताए ।
स्थानीयबासीले पूर्वशर्तअनुसार काठ उपलब्ध गराउन ढिलाई गरेपछि प्रतिघर पाँच क्युफिटका दरले एनआरएनएले नै काठको ब्यबस्था गरेर निर्माण काम अगाडि बढाएको साईट इञ्चार्ज अर्यालले बताए । ‘अब एउटा घरलाई ४८ क्युफिट काठ चाहिन्छ’ उनले भने ‘स्थानियले वनबाट सडकसम्म झारेपछि ढुवानी गरेर फिटिङ हामीले नै गर्नेछौ ।’

एनआरएन नमुना बस्तीका घरमा प्रयोग गरिएको पिभिसीको झ्यालढोकाप्रति स्थानीयबासीको असन्तुष्टि छ ।
‘प्लास्टिकले बनाएको पातलो झ्यालढोका छ’, स्थानीय मार्सिङ गुरुङले भने, ‘एकफेर लात्ताले हान्दैमा गल्र्यामगुर्लुम जाला जस्तो छ । यस्तो झ्यालढोकाले घरको सुरक्षा कसरी हुन्छ ?’ एन आर एन ए को ब्यबस्थापकीय कम जोरीका कारण स्थानीयको अपेक्षा अनुसार बस्ती निर्माण नभएको उनको आरोप छ ।प्रत्येक घर १२ लाख रुपैंयाको लागतमा बनेको एनआरएनएले जनाएको छ ।
नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनाइएको एनआरएनका प्रोजेक्ट मेनेजर सुवास अधिकारीले जनाए । लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार सबै एकै प्रकारका चारकोठे दुईतले घर बनाइएको छ ।
पहिलो तला सिमेन्ट, इट्टा र बालुवाको प्रयोगले बनाइएको छ भने दोस्रो तल्लामा एसीब्लक प्रयोग गरिएको छ । टूष्ट हालेर पिभिसी पाताले छाइएको छ ।
घर निर्माणको काम अन्तिम चरणमा पुगेपनि कुनै पनि घरमा सौचालय निर्माण गरिएको छैन । अब प्रत्येक घरमा शौचालय तथा सडक निर्माणको काम सुरु गर्ने अधिकारीले जानकारी दिए । ‘हामीले ५ सय मानिस अट्ने सामुदायिक भवन पनि निर्माण गर्ने तयारी गर्दैछौ’ उनले भने ‘अब हाम्रो टिम करीब दुई महिना मात्रै यहाँ रहन्छ ।’ गुप्सीपाखाको १८ दशमलब ३ हेक्टर जग्गा स्वामित्वमा लिएर बस्ती निर्माण गरिएको हो । २०७३ माघमा बस्ती सिलान्यासका क्रममा एनआरएनका तात्कालीन अध्यक्ष शेष घलेले एक २०७४ सालको दशैंमा लाप्राक बासीलाई उपाहारस्वरुप नयाँ घर दिने प्रतिबद्धता गरेका थिए ।
निर्धारित समयमा निर्माण नसकिए पछि घर हस्तान्त रणका लागि बैशाख १२ गतेको म्याद राखिएको थियो । तर यो मितिमा पनि बस्तीको सबै संरचना निर्माण भएको छैन ।  एकीकृत बस्ती निर्माणमा एक सय ६० जना नेपाली सेना सहित चार सय ५० कामदार परिचालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्