| शनिबार, बैशाख ८, २०८१

गोरखाको बालमन्दिरमा भूकम्प मापन यन्त्र जडान

भूकम्पको केन्द्रविन्दू गोरखाका विद्यार्थी र समुदायलाई भूकम्पबाट सुरक्षित बनाउने उद्देश्यले गोरखाको बालमन्दिर माविमा भूकम्पमापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम नेपाल नामक संस्थाले बालमन्दिर माविको भवनमा सिस्मोमिटर जडान गरेको हो ।
भूकम्पको केन्द्रविन्दू गोरखामा अझै पनि भूकम्पको सम्भावना रहेकाले यसबाट सजग रहन तथा यसको अध्ययन गर्न सिस्मोमिटर जडान गरिएको सिस्मोस्कुल नेपालका शिव सुवेदीले जानकारी दिए । सो यन्त्रले चार रेक्टरस्केल भन्दा कम म्याग्निच्यूटको समेत कम्पन मापन गर्ने सुवेदीले बताए । भूकम्पको केन्द्रविन्दू, दुरी, गहिराई र दूरीको म्याग्नेच्यूट पनि पत्ता लगाउन सक्ने उनले बताए ।
अमेरिका, क्यानडा स्वीजरल्याण्डको लुजान विश्वविद्यालयको सहयोगमा सो संस्थाले गोरखा सहित बिभिन्न २३ जिल्लाका बिभिन्न ठाउँमा सिस्मोमिटर जडान गर्ने क्रममा गोरखाको बालमन्दिरमा सो यन्त्र जडान गरेको हो ।
विद्यालयहरुमा भूकम्पमापन यन्त्र जडान गरिएको यो नेपालकै पहिलो कार्यक्रम रहेको सुवेदीले बताए । यसअघि सो संस्थाले बाग्लुङको गल्कोटस्थित एकता सेकेण्डरी स्कूल लगायत चार ठाउँमा यन्त्र जडान गरेको थियो ।
विश्वका बिभिन्न देशमा समेत सफल प्रयोग भएकाले सरकारको अनुमति लिएर नेपालका विद्यालय तहमा जडान गर्न थालिएको सुवेदीको भनाइ छ । विद्यालयमा सिस्मोमिटर जडान गर्नुअघि सो संस्थाले सम्बन्धित विद्यालयका शिक्षकहरुलाई पोखरामा तालिम समेत सञ्चालन गरेको थियो ।
भुकम्पबाट हुन सक्ने क्षति कम गर्नका लागि यस्ता कार्यक्रमले सघाउने बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्