
वडा अध्यक्ष शरण श्रेष्ठको पारिश्रमीकले विद्यार्थीलाई पुस्तक प्रदान
गोरखाको शहिद लखन गाउँपालिका ७ का वडाअध्यक्ष शरण श्रेष्ठले आफ्नो तलव भत्ताको रकमले विद्यार्थिलाई निशुल्क पाठ्यपुस्तक वितरण गरेका छन् ।
वडा भित्रका पाचँ विद्यालयका बालकक्षा देखी ५ कक्षा सम्मका विद्यार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक निशुल्क वितरण गरिएको हो । शहिद स्मृति मावि, चण्डिका आधारभुत विद्यालय, लखनथापा आधारभुत विद्यालय,खाब्दी प्रावि र मकैपुरका विद्यार्थीलाई दुई लाख ८८ हजार रुपैयाँ बराबरको पाठ्यपुस्तक वितरण गरिएको हो ।
चण्डिका आधारभुत विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले विद्यार्थीलाई किताब हस्तान्तरण गरे ।
नेपाली पाठ्यपुस्तक निशुल्क पाउने भएपनि अंग्रेजी पाठ्यपुस्तक खरिद गर्दा लाग्ने शुल्क विद्यार्थी र अभिभावकलाई भार नपार्ने उदेश्यले आफ्नो तलबबाट पुस्तक खरिद गरि वितरण गरेको वडाअध्यक्ष श्रेष्ठले बताए ।
‘यसै शैक्षिक सत्रदेखि यि विद्यालयहरुमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुँदैछ’ उनले भने ‘विद्यार्थीलाई सामुदायिक विद्यालयमा आकर्षित गर्न तथा अंग्रेजी भाषा शिक्षणमा सहयोग पु¥याउन मेरो पारीश्रमिक र भत्ताले किताब किनेर दिएको हुँ ।’
शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने उनको भनाई छ । वडाअध्यक्षमा निर्वाचित भएपछि हालसम्म पारिश्रमिक वापत प्राप्त तिन लाख ७८ हजार रुपैयाँ तथा भत्ताबाट प्राप्त ८० हजार रुपैयाँ विभिन्न सामाजिक काममा खर्च गरेको उनले जानकारी दिए ।




