| आइतवार, कार्तिक २२, २०८३

अवैध उत्खननमा संलग्न चारजना पक्राउ प्राकृतिक सम्पदाको दोहन सम्बन्धी मुद्धा दर्ता

किरण लोहनी : 

नदीजन्य सामग्री अवैध रुपमा उत्खनन् गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राऊ गरी मुद्धा चलाएको छ । गण्डकी गाउँपालिका ७ घ्याल्चोक स्थित त्रिशुली नदी किनारबाट उनीहरुलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको हो । पक्राऊ पर्नेमा एक्साभेटर चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ५ का २५ वर्षका राजीव सिलवाल, ट्रिपर चालकहरु गजुरी गाउँपालिका ६ का २७ वर्षका आइतराज मोक्तान, सोही ठाउँका ३७ वर्षका मुक्त तामाङ र २७ वर्षका नवराज तामाङ रहेका छन् ।
जिल्ला अनुगमन तथा समन्वय समितिले शुक्रवार अनुगमनका क्रममा एक्साभेटर प्रयोग गरी उत्खनन गरिरहेको भेटेपछि प्रहरीलाई जानकारी गराएको थियो । ‘हामी शुक्रवार त्रिशुली नदी आसपास नदीजन्य सामग्री उत्खननको अनुगमनमा थियौं’ समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले भने, ‘हामीले विशेष अवस्थामा हलुका सवारी साधन प्रयोग गर्न दिने निर्णय गरेपनि त्यहाँ चेन भएको डोजर प्रयोग भैरहेको भेट्यौं । प्रहरीले थप कारवाही अघि बढाएको छ ।’

अबैध उत्खनन गर्नेलाई मुद्धा चलाएको गोरखाको रेकर्डमा यो पहिलो घटना

ठेक्का नलगाएको ठाउँमा उत्खनन गरेको पनि पाइएको धितालको भनाई छ । अनुगमन समितिले जानकारी गराएको केही घण्टामा शुक्रबार उनीहरुलाई घ्याल्चोक आसपासबाट पक्राऊ गरिएको एसपी भोला रावलले जानकारी दिए । ‘गाउँमा बाटो निर्माणको लागी सामग्री संकलन गरेको भन्ने जानकारी आएको छ’ प्रवक्ता धितालले भने, ‘जुन प्रयोजनका लागि भएपनि अवैध हिसाव किताबबाट काम भएको पाइयो ।’ अवैध रुपमा उत्खननमा संलग्न हरुबाट गाउँपालिकाले एकमुष्ट ४० हजार रुपैया जरिवाना गराएको छ । ‘हामीले जिल्ला अनुगमन समितिले तोकेको दर अनुसार जरिबाना गराएर त्यसको जानकारी समितिलाई गराएका छौं, बाँकी कारवाहीको प्रक्रिया कसले कसरी गरिरहेको छ, हामीलाई थाहा छैन’ गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए । पक्राऊ परेका चारैजना विरुद्ध आइतवार प्राकृतिक सम्पदाको दोहन सम्बन्धी मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको एसपी रावलले बताए ।


अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्ने विरुद्ध जिल्लामा पहिलो पटक यस प्रकारको मुद्धा दर्ता गरिएको हो । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा एकसय ४९ मा भएको ब्यवस्था अनुसार जिल्लामा पहिलो पटक मुद्धा दर्ता भएको रावलको भनाई छ । सो दफामा उल्लेख प्राकृतिक सम्पदा माथि अतिक्रमण गर्न नहुने सम्बन्धी ब्यवस्था अनुसार मुद्धा चलाइएको उनले बताए । सो दफामा अतिक्रमणमा संलग्नलाई विगो खुलेमा विगो बमोजिम र नखुलेमा १० लाख रुपैयासम्म जरिवाना र १० वर्षसम्म कैद सजायँ हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्