| आइतवार, कार्तिक २२, २०८३

हावाहुरीले गोरखाको विजुलीमा १० लाखको क्षति, काठेपोल ढले, ट्रान्स्फर्मर जले

मंगलबार साँझको हावाहुरीले गोरखाको विद्युत क्षेत्रमा करीब दश लाख रुपैयाँ बराबरको क्षति भएको छ । हावाहुरी तथा चट्याङले जिल्लाको विभिन्न ठाउँमा ट्रान्सफर्मर जल्नुका साथै पोल ढल्ने तथा तार चुडिएपछि दश लाख रुपैयाँ बराबरको क्षति भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।


चट्याङले ताप्ले र जराङस्थित ट्रान्सफर्मर जलेको केन्द्रका प्रमुख माधब न्यौपानेले जानकारी दिए । ‘ताप्लेको टूान्सफर्मर बनाउँदै छौ, जराङको बनिसक्यो’ उनले भने । हावाहुरीले जिल्लाको छोप्राक, खोप्लाङ, मकैसिंह, बुंकोट, मीरकोट, ताप्ले, च्याङली, बटडाँडा, बिजुलीडाँडा लगायतका ठाउँमा काठका पोल ढलेका छन् । यिनै मध्येका केहि ठाउँमा रुख ढलेर बिजुलीको तार चुँडिएका छन् । यी सबै ठाउँमा विद्युत आपुर्तिमा समस्या रहेको केन्द्र प्रमुख न्यौपानेले जानकारी दिए । जिल्लामा खोप्लाङ, महेन्द्रज्योती, मकैसिंह फिडर मार्फत आंशिक रुपमा विद्युत वितरण भएको छ भने डुम्रे गोरखा फिडर मर्मत भैरहेको केन्द्र प्रमुख न्यौपानेले बताए ।
‘हामीले मंगलबार रातीदेखि नै मर्मत शुरु गरेका छौ’ उनले भने ‘काठको पोल ढलेका ठाउँमा फलामका पोल राख्दैछौ, प्राविधिकहरु मर्मतमा नै हुनुहुन्छ । शुक्रबारसम्ममा सबै ठाउँमा मर्मत सक्ने लक्ष्य लिएका छौं, त्यसपछि विद्युत आपुर्तिमा समस्या रहदैन ।’

प्रतिक्रिया दिनुहोस्