| शनिबार, बैशाख ८, २०८१

मापदण्ड मिचेर नदीजन्य सामग्री उत्खनन गर्ने ठेकेदारलाई स्पष्टिकरण

किरण लोहनी :

मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खनन गर्ने एक ठेकेदार कम्पनीलाई पालुङटार नगरपालिका ले कारवाही प्रक्रिया अघि बढाएको छ ।
दरौंदी किनारको मसानेपाटी घाटबाट नदीजन्य सामग्री उत्खनन र संकलनको ठेक्का लिएको सचेत कन्स्ट्रक्सन प्रालिलाई स्पष्टिकरण सोधेको हो । सम्झौतापत्रमा उल्लेख गरिएको शर्त र आईई प्रतिवेदनमा उल्लेख भएको भन्दा विपरीत हुने गरी नदीजन्य सामग्री उत्खनन् भएको पाइएकाले स्पष्टिकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए । नगरपालिकाले पठाएको पत्रमा ३ दिनभित्र स्पष्टिकरण दिन भनिएको छ । जिल्ला अनुगमन समितिले मंगलवार गरेको अनुगमनका क्रममा दरौंदीको मसानेपाटी घाटमा दरौंदी नदीको बहाव परिवर्तन गरी उत्खनन गरिएको पाइएको थियो ।


समितिले तत्कालै पालुङटार नगरपालिकालाई यसबारे जानकारी गराएको थियो । लगत्तै मसानेपाटी घाटमा पुगेका प्राविधिकहरुले नदीजन्य सामग्री उत्खननकोे अवस्था लगायतबारे अध्ययन गरेका थिए । ‘प्राविधिकहरुले पेश गरेको प्रतिवेदनको आधारमा सचेत कन्स्ट्रक्सनलाई स्पष्टिकरण सोधिएको हो’ भारतीले भने, ‘सो कम्पनीले नदीको धार परिवर्तन गर्नुका साथै नदीको सतहभन्दा करिब दुई मिटर गहिरो बनाएर नदीजन्य सामग्री झिकेको प्राविधिक प्रतिवेदन प्राप्त भएको छ ।’


यस्तै नदी किनारबाट १० मिटरसम्म कुनै स्रोत संकलन नगर्ने गरी ठेक्का सम्झौता भएपनि सो कन्स्ट्रक्सनले उक्त मापदण्ड पनि मिचेको पाइएको भारतीले बताए । कम्पनीलाई १४ हजार ४१ घनमिटर सामग्री उत्खननको ठेक्का दिइएपनि सो भन्दा बढी परिमाण झिकेको हुन सक्ने प्राविधिकहरुको अनुमान छ ।


‘आईई रिपोर्टमा उल्लेख गरेभन्दा बढी उत्खनन गरेको अनुमान छ, त्यसबारे प्राविधिक रिपोर्ट आउन बाँकी छ’ भारतीले भने । ठेकेदार कम्पनीले तीन दिनभित्र स्पष्टिकरण नबुझाएमा वा चित्त बुझ्दो नभएमा कारवाही अघि बढाउने पालुङटार नगरपालीकाको तयारी छ । ‘हामी वातावरण संरक्षण सम्बन्धी ऐन नियमावली अनुसार कारवाही गर्छौं, तर स्पष्टिकरण त पर्खनु प¥यो नि ’ भारतीले भने । मापदण्ड विपरित र तोकिएको परिमाण भन्दा धेरै नदीजन्य सामग्री उत्खनन गरेको गुनासो पनि पालुङटार नगरपालीकाले बुधवार चेपे र मस्र्याङ्दी नदी किनारका विभिन्न घाटको अनुगमन गरेको छ । गोरखा नगरपालिकाले भने दैनिक नियमित रुपमा प्राविधिकको प्रत्यक्ष निगरानीमा मापदण्डभित्रै रही उत्खनन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्