
बूढीगण्डकी आयोजना प्रतिष्पर्धामा ठेक्का दिन महालेखाको सुझाव
सरकारले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिन लागेको बूढीगण्डकी जलविद्युत् परियोजना प्रतिस्पर्धाका आधारमा अघि बढाउन महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । संवैधानिक निकाय महालेखाले आफ्नो ५६ औं प्रतिवेदनमा बूढीगण्डकी जलाशययुक्त जल विद्युत् आयोजना सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९को व्यवस्थाविपरीत दिइएको भन्दै प्रतिस्पर्धामा जान सुझाव दिएको हो । सार्वजनिक खरिद ऐनमा दफा ९ मा सार्वजनिक निकायले कुनै खरिद गर्दा सम्भव भएसम्म खुल्ला रुपमा बोलपत्र आह्वान गरी गर्नुपर्ने र योग्य बोलपत्रदातालाई खरिद प्रक्रियामा विना भेदभाव सहभागी हुने अवसर प्रदान गर्नुपर्ने उल्लेख छ ।

मन्त्रिपरिषद्ले बूढीगण्डकी आयोजना ईपीसीएफ मोडलमा निर्माणका लागि गेजुवालाई दिन ‘वार्ता गरी समझदारी गर्न’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले बूढीगण्डकी जलाशययुक्त आयोजनाको डिजाइन, पैसाको जोहो, निर्माणका लागि ठेकेदारको छनोट सबै कम्पनी स्वयंले गर्ने (इपीसीएफ मोडल)मा बनाउन गेजुवालाई दिने समझदारी गरेको थियो । २०७४ को जेठमा तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त सम्झौता खारेज गरेको थियो । राष्टिूय योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको समितिले बूढीगण्डकी स्वदेशी लगानीमै बनाउन सकिने स्रोतसहितको खाका बनाएको थियो । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेकोले सरकार आफैंले बनाउनुपर्ने आवाज उठ्दै आएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले स्वदेशी लगानीमै बनाउनुपर्ने भन्दै दबाबमुलक कार्यक्रम समेत गर्दै आएको छ ।

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेटूोलियम पदार्थबाट कर उठाएर आफैँ बनाउने भनी बजेटमै घोषणा समेत गरेको थियो । त्यसयता जनताबाटै उक्त आयोजनाका लागि २९ अर्बभन्दा बढी रकम पनि उठिसकेको छ ।




