| सोमवार, कार्तिक २३, २०८३

शुल्क नतिरेको भन्दै शैलपुत्रीमा बार्षिक परीक्षाको नतिजा स्थगित

विविध शीर्षकका शुल्क नतिरेको भन्दै बारपाक सुलीकोट ७ को शैलपुत्री माविले सात जना विद्यार्थीको बार्षिक परीक्षाको नतिजा रोकेको छ । परीक्षफल रोकिनेमा शिशु कक्षा र कक्षा एकका विद्यार्थी पनि छन् ।
विद्यालयले बिहिबार बार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । तर सात जनाको नतिजा भने शुल्क नतिरेको भन्दै स्थगित गरेको विद्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
पूर्व प्राथमिक तह(इसिडी) मा अध्ययनरत समीक्षा बरामले र कक्षा १ का विशाल गुरुङले परीक्षा शुल्क ७५ रुपैयाँ नतिरेको भन्दै परीक्षाफल स्थगित गरिएको प्रधानाध्यापक यदुनाथत ढकाल द्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।
कक्षा चारका प्रवीण भट्टले कोचिङ शुल्क र परीक्षा शुल्क गरी रु २१९५ नतिरेको, सोही कक्षाकी सोविता गुरुङले बार्षिक परीक्षा शुल्क रु सय र कोचिङ शुल्क रु ४५० नतिरेको भन्दै नतिजा रोकेको छ । त्यस्तै कक्षा पाँचका बिकल गुरुङले रु ८७५, कक्षा ६ का सुरेश बयलकोटीले कोचिङ शुल्क परीक्षा शुल्क गरी रु तीनहजार ८५ र सोही काक्षाकी भावना भट्टले शुल्क रु २९३५ नतिरेको भन्दै परीक्षाफल रोकेको विद्यालयले जनाएको छ ।
नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षा सम्बन्धी हकको रुपमा व्यबस्था गरिएको छ । जसमा सबै नागरिकलाई आधारभूत तहसम्मको शिक्षाको पहुँचको प्रत्याभूति गरिएको छ । आधारभूत तहसम्मको शिक्षालाई अनिबार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुने भनिएको छ । शिक्षा नियमावलीले कक्षा तीनसम्म उदार कक्षाउन्नतिको व्यबस्था गरेको छ । तर सो विद्यालयले भने हजारौं रुपियाँ शुल्क नतिरेको भन्दै परीक्षाफल रोकेको हो ।
शुल्क नतिरेसम्म बार्षिक परीक्षा को नतिजा नदिने भन्दै विद्यालयले शुल्क तिर्न बाध्य पारेको हो ।
सबै विद्यार्थीको अभिभावक बोलाएर नतिजा सुनाउने भन्ने निर्णय भएको तर शुल्कको बिषय बैठकमा निर्णय नगरिएको बारपाक सुलीकोट गाउँपालिका ७ का वडा अध्यक्ष कृष्ण गुरुङले बताए । ‘आफ्ना छोराको अबस्था बारे अभिभावकलाई जिम्मेवार बनाउन विद्यार्थी र अभिभावकको उपस्थिति मा मात्र नतिजा दिने निर्णय भएको थियो तर शुल्क नतिरेको भनेर नतिजा रोक्नु गल्ती भयो । यस्तो निर्णय भएको थिएन’, उनले भने, ‘म यस्तो दुखद काम हुन रोक्नेछु ।’ गाउँपालिकाको शिक्षा शाखा प्रमुख यानबहादुर नेपालीले भने विद्यालयले आफ्नो स्तर उन्नतीका लागि केही शुल्क लिएको हुन सक्ने बताए । ‘विद्यालयले अंग्रेजी माध्यममा चलेको थियो त्यसैले स्तरउन्नतिका लागि केही शुल्क उठाएको हुनसक्छ’, नेपालीले भने, ‘तर शुल्क नतिरेको भनेर नतिजा रोक्नुचाहिँ ठिक भएन । के भएको रहेछ, म बुझुँला ।’

प्रतिक्रिया दिनुहोस्