
प्रयोगशाला स्थापनाका लागि गोरखाका १६ विद्यालयमा गण्डकी सरकारको अनुदान
गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले गोरखाको १६ विद्यालयमा कम्प्युटर तथा विज्ञान प्रयोगशाला स्थापनाका लागि अनुदान दिने भएको छ । सामाजिक विकास मन्त्रालय मातहतको निर्देशनालयले जिल्लाका १६ विद्यालयलाई एक करोड चार लाख ७५ हजार रुपैयाँ बराबरको अनुदान दिने भएको हो ।
विद्यालयले पेश गरेका प्रस्ताव अनुसार गोरखाको १६ विद्यालय छनौट गरेको निर्देशनालयका निर्देशक डाक्टर बाबुराम ढुंगानाले बताए । ‘संघ र स्थानीय सरकारको ध्यान नपुगेको ठाउँमा हामीले अनुदान दिएका हौं’ उनले भने ‘समय सापेक्ष अध्ययन अध्यापन सहज र सजिलो बनाउन तथा विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि यो कार्यक्रमले सघाउने विश्वास लिएका छौं ।’
गण्डकी गाउँपालिकाको ज्ञानमार्ग माध्यमिक विद्यालय र आरुघाट गाउँपालीकाको भवानी माध्यमिक विद्यालयले प्राविधिक विद्यालयमा ल्याब तथा शैक्षिक उपकरण ब्यबस्थापनका लागि अनुदान शिर्षकबाट रकम प्राप्त गर्नेछन् । ज्ञानमार्गले नौ लाख ७५ हजार रुपैयाँ र भवानीले छ लाख ५० हजार रुपैयाँ अनुदान पाउने भएका हुन् ।
यस्तै, सामुदायिक विद्यालय तथा बाल सुधार गृहको लागि शौचालय निर्माण, कम्प्युटर ल्याब तथा विज्ञान ल्याब स्थापनाका लागि अनुदान शिर्षकमा १४ विद्यालय छनौट भएका छन् । कम्प्युटर ल्याब स्थापनाका लागि छनौट भएका विद्यालय मध्ये शहिद लखन गाउँपालीकाको थानी आधारभूत विद्यालयले चार लाख रुपैयाँ अनुदान पाउनेछन् । विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबका लागि छनौट भएका अन्य विद्यालयले छ लाख ५० हजार रुपैयाँ अनुदान पाउनेछन् ।
विज्ञान प्रयोगशालाका लागि अनुदान पाउनेमा गण्डकी गाउँपालीकाको सुर्योदय माध्यमिक विद्यालय, बारपाक सुलिकोट गाउँपालीकाको माझथर माध्यमिक विद्यालय र अन्तरज्योति माध्यमिक विद्यालय, गोरखा नगरपालिकाको नवज्योति माध्यमिक विद्यालय, तारा माध्यमिक विद्यालय, पालुङटार नगरपालीकाको मिरकोट माध्यमिक विद्यालय, मदनेडाडाँ माध्यमिक विद्यालय र अमरज्योती जनता माध्यमिक विद्यालय छन् ।
यस्तै, कम्प्युटर ल्याबका लागि अनुदान पाउनेमा शहिद लखन गाउँपालीकाको सिद्धस्थानी माध्यमिक विद्यालय, महेन्द्रशक्ति माध्यमिक विद्यालय, जनशक्ति माध्यमिक विद्यालय र पालुङटार नगरपालीकाको अकला माध्यमिक विद्यालय र आरुघाट गाउँपालीकाको भवानी माध्यमिक विद्यालय छन् । शिक्षा विकास तथा समन्वय इकाईमा सोमबार आयोजित कार्यक्रममा छनौट भएका विद्यालय र निर्देशनालयबिच सम्झौता भएको छ ।
सम्झौता अनुसार चालु आर्थिक बर्षभित्रै स्विकृत कार्यक्रम अनुसार विद्यालयले प्रयोगशाला निर्माण गर्नुपर्नेछ । विद्यालयले प्रयोगशाला निर्माण गरेपछि स्थानिय तहको सिफारीसका आधारमा रकम निकासा गर्ने निर्देशक ढुंगानाले जानकारी दिए ।




