| आइतवार, कार्तिक २२, २०८३

चुमनुब्री र धार्चेका बासिन्दाले स्वास्थ्य विमा नविकरण गरेनन्

अनुपमा खनाल

गोरखाको चुमनुब्री गाउँपालिका ६ का स्वास्थ्य विमा दर्ता सहयोगी सेराप गुरुङले वडाका एक सय ४७ जनाको स्वास्थ्य बीमा गराएको एक बर्ष वित्यो । अहिले विमा नविकरण गर्नुपर्ने हो, तर गुरुङले गराउन सकेका छैनन् । ‘बीमामा भनिएको सेवा नै नपाएपछि कसरी गाउँलेलाई विमा नविकरण गर्नु भन्नु’ दर्ता सहयोगी गुरुङले भने, ‘हामीले विमाको सेवा पाउन ३ दिन हिडेर आरुचनौट प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुपर्छ । त्यहाँ सबै सेवा सुविधा छैन । त्यहाँको सिफारीसमा रीफर गरिएका विरामीलाई अन्य अस्पतालले विमाको सुविधा दिएनन् । गाउँले नविकरण गर्र्नै मान्दैनन् ।’ विकटका नागरिकले पैसा खर्च गरेर विमा गरेपनि सेवा लिन धेरै झन्झन्ट ब्यहोर्नुपरेको उनको दुखेसो छ ।
स्थानियले अपेक्षा गरेअनुसारका सेवा सुविधा नपाउँदा चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र सिरानचोक गाउँपालिका १ र २ नं वडाबाट स्वास्थ्यबीमा गराएका कसैलेपनि नविकरण नगराएको जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका दर्ता अधिकारी विशाल लौडारीले जानकारी दिए । ‘धेरैजसोलाई सेवा पाउने स्वास्थ्य संस्था नै पायक परेन, फेरि स्वास्थ्य समस्यासँग सम्बन्धित चिकित्सक नभेटिने, प्रयोगशालाका लागि झन्झट, विमा कार्यक्रमले तोकेका आवश्यक औषधि पनि नपाउने भन्दै बीमा नविकरणमा आनाकानी गर्नुभएको छ ।’
गोरखामा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको डेढ वर्षमा सात हजार चार सय ७४ परिवारका ३७ हजार एक सय १२ जना विमा कार्यक्रममा सहभागी भएका छन् । नागरिकलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले सरकारले २०७४ असारदेखि गोरखामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । पहिलो वर्ष नवीकरण गराउने दरमा ५० प्रतिशतले कमी आएको स्वास्थ्य बीमा कार्यालयका दर्ता अधिकारी विशाल लौडारीले बताए । गत वर्ष भदौमा दुई हजार दुई सय ३३ परिवारले स्वास्थ्य वीमा गराएपनि पाँच शय ९४ परिवारले मात्रै नविकरण गराएका छन् । यस्तै मंसीरमा सेवा शुरु हुने गरि एक हजार सात सय ८० घरधुरीले बीमा दर्ता गराएपनि सात सय ३० परिवारले मात्रै नविकरण गराएका लौडारीले जानकारी दिए ।


यस्तै गत वर्ष फागुनमा सेवा प्रारम्भ हुनेगरि ५ शय १६ परिवारले स्वास्थ्य बीमा गराएकोमा ३ शय ६५ परिवारले मात्रै नविकरण गराएका छन् । यो वर्षको असोज मसान्तसम्ममा १४ शय १४ परिवारले नयाँ बीमा दर्ता गराएका छन् । जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । स्वास्थ्य बीमा गर्न पाँच सदस्य भएको परिवारले वार्षिक २५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ । नवीकरण गर्न पनि त्यति नै रकम तिर्नुपर्छ । पाँचजनाभन्दा बढी परिवारका सदस्य भए प्रति सदस्य ४५० रुपैयाँ थप तिर्नुपर्छ । त्यस्तो परिवारले थप १० हजारभन्दा बढी रकम बराबरको सहुलियत पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बीमा गर्ने व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट निशुल्क औषधि, ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसन लगायतका उपचारमा बार्षिक ५० हजार बराबरको स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने ब्यबस्था छ । गोरखामा जिल्ला अस्पताल गोरखा, आपँपिपल अस्पताल, जौवारी, आरुचनौटे र मकैसींह प्राथमिक स्वास्थ्य चौकीबाट विमितले सेवा पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्