
हलेदो र अदुवा उत्पादनमा ४० बर्षमुनिका ४० युवा
अनुपमा खनाल
फरक पेशामा देशको बिभिन्न ठाउँमा छरिएका गोरखा नगरपालिका ८ कट्टेलडाँडाका युवाहरु गत शनिवार जन्मथलोमा भेला भए । ४० बर्ष मुनिका ४० युवा भेला हुनुको एउटै उदेश्य थियो, सामुहिक खेतीमार्फत कृषि उत्पादन ।
भेला भएका युवाले पाँडेस्वाँरामा भाडामा लिएको २० रोपनी बाँझो जमिन खनजोत पारे । राष्टिूय कृषि अनुसन्धान केन्द्र (नाष्ट)को सिफारीस अनुसार सल्यान जिल्लाको कपुरकोटबाट ल्याएको २० क्विन्टल उन्नत जातको हलेदो र अदुवाको बिउ रोपे । यी सबै काम ‘उत्साहित कृषि उत्पादन समुह’ मार्फत भएको हो । कृषि, कानुन, बजार, प्राविधिक लगायतका क्षेत्रमा ब्यबसायिक रुपमा लागेका युवाहरुले सामुहिक रुपमा कृषिको उन्नतिका लागि गत माघमा समुह गठन गरेका हुन् । युवा उत्पादनमा नजोडिए आर्थिक संवृद्धि सम्भव नभएकाले आफ्नै ठाउँबाट प्रयास थालेको समुहका अध्यक्ष रुपेश कट्टेलले बताए । ‘हाम्रा बा आमाले त्यही जग्गामा उब्जिएको अन्नपातले हामीलाई हुर्काउनुभयो, पढाउनुभयो’, उनले भने, ‘हामी सक्षम भएर काममा अन्यत्र पुगेका छौं । त्यही जग्गा बाँझो छ । त्यसैले त्यो जग्गाको सम्मान गरी पुनउत्पादनकै लागि सबै मिलेर काम थालेका हौं ।’
कृषि उत्पादनको चरणबद्ध योजना बनाएको उनले बताए । ‘पहिलो चरणमा हलेदो र अदुवा रोपियो’, उनले भने, ‘अब अकबरे खुर्सानी पनि खेती गर्छौँ । तिहारमा खपत हुने सयपत्री तथा मखमली फूल पनि खेती गर्छौँ । तत्काल नगदे बालीलाई प्राथामिकता दिएका हौं तर कफी खेती पनि गर्ने योजना छ ।’
उत्पादित बस्तुलाई सोझै भान्सामा प्रयोग गर्न मिल्ने गरी प्रशोधन गरेर बजारमा पठाउने समुहका सदस्य विरोध कट्टेलले बताए । ‘प्रशोधन, प्याकिङ, कुटानी, पिसानी, प्याकिङ, लेबलिङ गरेर मात्रै बजारमा पठाउँछौँ’ उनले भने ‘गाउँका आमा, दिदीबहिनी, भाउजु लगायत सबै जनशक्तिलाई यस काममा परिचालन गर्छौ । रोजगारी सृजना गर्ने पनि हाम्रो लक्ष्य हो ।’
समुहले कृषिमा भ्यालु चेन्जको अबधारणा सहित उत्पादन देखि बजार ब्यबस्थापनसम्मको योजना बनाएको छ । जस अन्तरगत समुहमा आबद्ध युवाहरु अनुसन्धान तथा योजना समुह, उत्पादन समुह, प्रशोधन समुह, ब्यबस्थापन समुह र कफी उत्पादन समुहमा बाँडिएर जिम्मेवारी अनुसारका काम गर्नेछन् । मौसम अनुसारको खेती गर्दा बिउ रोप्ने दिन सबै सदस्यहरुलाई अनिबार्य उपस्थिति हुनु पर्ने नियम पनि बनाएको उपाध्यक्ष रमण कट्टेलले बताए ।
‘चाडबाड बाहेक अरु बेला युवा देख्नै मुस्किल’, उनले भने ‘जुनसुकै खेतीमा पनि ४० जना नै अनिवार्य उपस्थित हुनुपर्ने नियम छ । गाउँ पनि रमाईलो हुने भयो । नयाँ र पुराना पुस्ता बीचको सम्बन्ध पनि बढ्ने भयो ।’
खेतीका लागि समुहले चार जनाको जग्गा भाडामा लिएको हो । ती मध्ये विश्वेश्वर कट्टेलले निशुल्क जग्गा उपलब्ध गराएका छन् । तीनजना जग्गाधनीलाई समूहले बार्षिक ३१ हजार रुपैँयामा भाडा तिर्नुपर्छ । बिउपुजीका रुपमा समुहमा आबद्ध सदस्यले पहिलो चरणमा प्रतिब्यक्ति दश हजार रुपैयाँ संकलन गरेका छन् । हालसम्म करीब दुईलाख रुपैया खर्च भैसकेको समुहका उपाध्यक्ष कट्टेलले जानकारी दिए ।
गाउँका युवाहरुले प्रेरणादायिक काम थालेका स्थानीय गोबर्धन कट्टेलले बताए । ‘बाँझो जमिनमा खेती गर्न थाले धेरै खुशी लागेको छ’ उनले भने ‘पढेलेखेकाले पनि खेती गर्न हुन्छ भन्ने उदाहरण भयो, राष्ट्रलाई नै फाईदा हुने काम गरेका छन् । सुरुवाती हो अहिले त । अब दिगो रुपमा लैजाने योजना बनाउनुपर्छ ।’ युवाहरुको सामुहिक कृषि प्रणाली अन्यत्र पनि प्रेरणा र नमुना हुने उनको विश्वास छ ।




