| आइतवार, कार्तिक २२, २०८३

गोरखा आयुर्वेद कम्पनी विश्व स्वास्थ्य संगठनको मापदण्डमा जान प्रक्रिया सुरु

अनुपमा खनाल :

स्वदेशी उद्योग बन्द हुदै गएको र सञ्चालनमा रहेका पनि घाटामा चलिरहेका बेला गोरखाको एक उद्योगको अबस्था भने अल्लि बेग्लै छ । गोरखा नगरपालिका ६ हरमटारीमा ३५ बर्षअघि स्थापना भएको गोरखा आयुर्वेद कम्पनी बिना बिघ्नबाधा दैनिक दुईसिफ्टमा चलिरहेको छ । गत आर्थिकबर्ष ११ करोडको कारोबार गरेको सो आयुर्वेद कम्पनीले चालु आर्थिक बर्ष १६ करोडको र आउँदो आर्थिक बर्ष २० करोडको कारोबार गर्ने लक्ष्य राखेको उद्योगका प्रबन्धक अर्जुन अर्यालले जानकारी दिए । बिभिन्न दुईसय भन्दा धेरै प्रकारका आयुर्वेदिक औषधी उत्पादन गर्ने यस कम्पनी फ्रान्सको सहयोगमा स्वेदशी लगानीकर्ता हरुले ३५ बर्षअघि स्थापना गरेका हुन् ।

उद्योग दैनिक दुई सिफ्टमा १६ घन्टा सञ्चालन हुँदै आएको उद्योगका व्यवस्थापक अर्याल बताउँछन् । बन्दका बेला पनि निर्बाध रुपमा उद्योग सञ्चालन भइरहने कर्मचारी स्रोत को भनाइ छ । बर्षैपिच्छे मुनाफा कमाउँदै गएपछि उद्योगले अहिले क्षमता विस्तार गरेको छ । आयुर्वेद औषधि उत्पादनका लागि मेसिन तथा जनशक्ति थप गरेको प्रबन्धक अर्याल बताउँछन् । ‘कम्पनीले जडि बुटी सुकाउने डूायर मेसिन दुईवटा, मिक्स्चर मेसिन दुईवटा, दाना औषधी बनाउने मल्टिमिल मेसिन एउटा थप गरेको छ’, अर्यालले भने, ‘मेसिन थप गरेपछि कम्पनी मा अब डूायर मेसिनको संख्या पाँच, मिक्स्चर मेसिनको संख्या चार र मल्टिमिलको संख्या दुईवटा पुगेको छ ।’ थपिएको मेसिन राख्नका लागि एउटा भवन पनि बनाएको उनले बताए । ३५ बर्षअघि स्थापना भएको गोरखा आयुर्वेद कम्पनी अहिले विश्व स्वास्थ्य संगठनको गुड म्यानु फ्याक्चरिङ प्राक्टिस(जिएमपी) को मान्यतामा जाने तयारी गरेको छ । ‘जिएमपीमा जाने पूर्व तयारी स्वरुप हामीले एकमहिना अघिमात्रै नयाँ प्रयोगशाला पनि स्थापना गरिएको छ’, प्रवन्धक अर्यालले भने, ‘पुराना मेसिनहरु बिस्थापित गरी नयाँ स्थापित गरिरहेका छौं ।’ उद्योगमा यसअघि ३० जना मजदुर तथा कर्मचारी कार्यरत थिए । मेसिन थप गरेपछि छ जना थप गरिएको ब्यबस्थापक अर्यालले बताए । ‘हामी उत्पादन बृद्धि गर्ने सोचले क्षमता विस्तारमा लागेका छौं’ उनले भने ‘बजारमा हाम्रा उत्पादन को माग बढेसँगै कम्पनी को क्षमता बढाएका हौं ।’ गतबर्ष ११ करोड रुपैयाँ बराबरको उत्पादन गरेको कम्पनीले यो बर्ष १६ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको अर्यालले बताए । ‘हामीले भर्खर क्षमता विस्तार ग¥र्यौ’ उनले भने ‘ गतबर्षको तुलना मा अब हाम्रो उत्पादन र आम्दानी बढ्छ ।’ आगामी बर्ष २० करोड रुपैयाँ बराबरको उत्पादन गर्ने लक्ष्य छ । कम्पनीले सौन्दर्यका सामाग्री, अभिपत्तिकर, कान्चानर ट्याबलेट, टेन्सारिन, चिया, च्याबनप्रास लगायतका सय भन्दा बढि प्रकारका औषधि उत्पादन गर्दै आएको छ । दुई सय ५० प्रकारका जडिबुटिबाट कम्पनीले विभिन्न उत्पादन गर्ने कम्पनीका कविराज जीवन रेग्मीको भनाइ छ । जसमध्ये सय प्रकारका जडिबुटी गोरखामा नै संकलन रेग्मीले बताए । ‘हामीले पाएसम्म गोरखामा नै जडिबुटि सङ्कलन गर्छौ’, उनले भने, ‘गोरखामा हिमाल, तराई, पहाड तीनै ठाउँमा पाईने जडिबुटी पाईन्छ । त्यसैले जिल्लाको ११ वटै स्थानीय तहसँग पनि जडिबुटी प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याउनका लागि समन्वय गरेका छौँ ।’ हाल विभिन्न वन समुदाय तथा जडिबुटीका ब्यबसायिक किसानसँग जडिबुटी खरिद गरिएको उनको भनाई छ ।
जिल्लाका किसानबाट धेरैजसो सीमली, असुरो, कुरीलो, जटामसी लगायतका जडिबुटी कम्पनीले खरिद गर्छ । आबश्यक अन्य जडिबुटी देशका विभिन्न भाग तथा भारतबाट खरिद गरेर ल्याइने उद्योगले जनाएको छ । कम्पनीले जडिबुटी खरिद गर्ने भएकाले जिल्लामा जडिबुटि खेतिका लागि किसानको आकर्षण पनि बढिरहेको ब्यबस्थापक अर्यालले जानकारी दिए । कम्पनीले काठमाण्डौस्थित कम्पनीको विभागमा पठाएको उत्पादन नेपालभर बिक्री गरिने अर्यालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्